
लेखक
थम सिंजाली मगर
बुद्ध र बौद्ध दर्शनको आयाम निकै बढिरहेको छ । यसको अध्ययन, खोज तथा अनुसन्धानमा विश्व भरिकै विद्वत व्यक्तिहरूले आफ्नाे विवेक, बुद्धि, ज्ञान आदि लगाइरहेका छन । थुप्रै अन्तराष्ट्रिय विद्वानहरूले बौद्ध दर्शनसँग सम्बन्धित विभिन्न माध्यमबाट आफ्नो लेख रचनाहरु प्रकाशित गरिरहेका छन् । तर पनि नेपाली भाषामा सजिलैसँग बुझ्न सकिने बौद्ध धर्म तथा दर्शनको इतिहाससँग सम्बन्धित लेख, रचना एवं पुस्तकहरू पर्याप्त मात्रामा उपलब्ध हुन सकिरहेको छैन । हालका दिनहरूमा भने थुप्रै नेपाली अध्येताहरू बौद्ध दर्शनको अध्ययन तथा अनुसन्धानमा लागिरहेका छन् । यस पुस्तकमा केही सीमित सन्दर्भ सामाग्रीहरूको सहायताबाट जानकारी र ज्ञान हासिल गरी बौद्ध धर्म तथा दर्शनसम्बन्धी इतिहासका केही तथ्यहरू पस्कने जमर्काे गरेको छु ।
यो युस्तक तयार पारी प्रकाशन गर्न दुई वर्षभन्दा बढी समय लागेको छ । तर, लगातार रूपमा लेख्ने कार्य भएको होइन । फुर्सदको समय मात्र सदुपयोग गरेको हूँ । म नियमित लेखक पनि होइन । बौद्ध दर्शनको अध्ययन गरेको हुनाले आफूले हासिल गरेको ज्ञान अरुलाई पनि बाँडी पुण्यकर्म गर्नुपर्छ भन्ने हेतुले लेखन कार्यको थालनी गरेको हूँ । “सब्बदान धम्मदान जिनाति” भन्ने बुद्धको कथनले अभिप्रेरित भई यो लेखन कार्य सुरू भएको हो ।
सरल नेपाली भाषामा बौद्ध दर्शनका वाक्यहरू बनाउन निकै कठिन छ । नेपाली भाषामा बौद्धधर्म इतिहाससम्बन्धी लेखिएका पुस्तकहरू अन्यन्तै न्यून छन् । अंग्रेजी भाषामा लेखिएका त छन् तर पहुँच गाह्रो छ । तैपनि इन्टरनेटको माध्यमबाट कतिपय शुल्क तिरेर र कतिपय निःशुल्क पुस्तक तथा लेखहरु डाउनलोड गरेर स्रोत सामाग्रीहरू जुटाएको छु ।
खास गरेर यस पुस्तकमा बुद्धकालीन समयदेखि १२ औं शताब्दिसम्म भारतीय उपमहाद्वीपमा बौद्धधर्म तथा दर्शनमा भएको विभिन्न प्रकारको उथलपुथल घटनाहरूलाई संक्षिप्त रूपमा जोड्ने प्रयास गरिएको छ । ऐतिहासिक कालखण्डको कतिपय समयमा बौद्धधर्मलाई राजकीय धर्मको रूपमा अपनाउँदै संरक्षण र विकास गरेको पाइन्छ भने कतिपय कालखण्डमा बौद्धधर्म तथा दर्शनलाई राज्यस्तरबाटै विनाश गर्ने कार्यहरू पनि भएको पाइन्छ ।
बौद्धधर्म र दर्शनसम्बन्धी स्तरीय पुस्तकहरू प्रकाशित भएका छन् तर ती पुस्तकहरू आम मानिसहरूको पहुँचभन्दा बाहिर छ । बौद्धधर्मको संरक्षण, विकासमा क-कसले कुन-कुन समयमा कस्ता-कस्ता योगदान दिए साथै क-कसले कुन-कुन समयमा कसरी यस धर्मको विनाश गरे भन्ने बारेमा लेखिएका पुस्तकहरू कम मात्रामा भेटिन्छन् । यो पुस्तक त्यही अभाव पूर्तिको सानो प्रयास हो ।
लेखन कार्य गर्दा सुखद कुरा त के हुन्छ र ? जागिर पनि गर्नुपर्यो । सामाजिक संघ संस्थाहरूलाई पनि समय दिनुपर्यो । कामतृष्णामा रुमलिएको यो जीवनले घरपरिवारलाई पनि समय दिनुपर्यो ।
बुद्धले भनेका छन् ‘सुख त औसीको रातमा बिजुली चम्केजस्तै हो ।’
तर पनि खोजी कार्य गरी लेख्नु नै छ । आगामी योजना भनेकै बौद्धधर्म र दर्शनसम्बन्धि खोज अनुसन्धान गर्नु हो । त्यसका लागि कोशिस गरिरहेको छु ।
०
थम सिंजाली मगरको यो पुस्तक यही मंसिर २१ र २२ गते आयोजन गरिएको पहिलो मगर साहित्य महोत्सव, जितगढी किल्लामा विमोचन हुने भएको छ । (सम्पादक, मगरात डट कम)




















Leave a Reply