Advertisement

उमादेवी राना मगर : प्याराजम्प गर्ने पहिलो मगर महिला

a young nepali woman

१० जेठ, २०८२
आमा फूलकुमारी र बुबा दिपबहादुर रानाको सन्तानको रुपमा वि.सं. २००३ सालको मंसिरमा जन्मिएकी उमदेवी राना मगरको नाम प्याराजम्प गर्ने पहिलो मगर महिलाको रुपमा दर्ज भएको छ ।

वि. सं. २०२२ सालको फागुनमा भैरवनाथ गणको शिक्षालयमा प्याराफोल्डरको रुपमा उनी भर्ना भएकी थिइन् । त्यो बेलासम्म सैनिकहरूले अभ्यास गर्ने प्यारासुट फोल्ड गर्ने काम महिलाहरूको हुने गर्दथ्यो । त्यही वर्ष नेपाली सेनामा प्याराजम्पको तालिम सुरु भएको थियो । इजरायलबाट आएका सैन्य प्रशिक्षकहरूले नेपाली सैनिकलाई उक्त तालिम दिएका थिए । इजरायली सैनिकले तालिम दिएको प्याराट्रूपरहरूलाई हेर्न तत्कालीन इजरायली राष्ट्रपति जलमान साजरका प्रतिनिधि पनि नेपाल आएका थिए । यो सन् १९६६ अर्थात् वि.सं. २०२३ को कुरा हो ।

त्यस तालिमपछि मात्रै नेपाली सेना संयुक्त राष्ट्रसंघको तर्फबाट पहिलोपटक शान्ति सेना बनेर लेबनान गएको थियो ।

प्यारासुटबाट ओर्लने सैनिकले आफैले नगरी प्यारासुट बटुल्ने र राख्ने काम प्याराफोल्डरलाई दिने गरिन्थ्यो । त्यसैका लागि नै अन्य युवतीहरूसँगै उमादेवी राना पनि भर्ती भएकी थिइन् । प्याराफोल्डरहरूलाई जम्प गर्न दिइन्नथ्यो । उमादेवी र उनका साथीहरूले धेरै आवाज उठाउनु प¥यो । आफूहरूले पनि प्याराजम्प गर्न पाउनुपर्ने माग राखे । वि.सं. २०२६ सालमा उनीहरूको माग सुनुवाई भयो । पहिलोपटक महिलालाई पनि प्यारासुटबाट जम्प गर्ने अनुमति दिइयो । पहिलोपटक त्यसरी जम्प गर्ने नेपाली महिला अन्नपूर्णदेवी कुँवर हुन् । मगर समुदायबाट भने उमादेवी राना मगर पहिलो बनिन् ।

प्याराफोल्डरको रुपमा २० युवतीलाई भर्ती गरिएको थियो । प्यारासुट कसले फोल्ड गरेको हो भनी फोल्डरको नाम त्यसैमा लेखेर राखिन्थ्यो । केही घटना भए उसैले जिम्मेवारी लिनुपथ्र्यो । प्यारासुट खुलेन भने कसैको ज्यान समेत जान सक्थ्यो ।
उमादेवी रानाले राजा वीरेन्द्रका लागि पनि प्यारासुट मिलाइदिएकी थिइन् । राजा सकुशल ओर्लिएपछि त्यो प्यारासुट कसले फोल्ड गरेको भनी सोधिएको थियो । केही दिनपछि उनलाई दरबारमा बोलाएर पदकका साथमा सम्मान पनि गरिएको थियो ।

प्याराजम्प गर्ने क्रममा तेस्रोपटकमा उनले भुईँमा राम्ररी टेक्न भ्याइनन् । उनको एउटा खुट्टा भाँचियो । बाँकी अभ्यास पूरा हुन पाएन । फलस्वरुप, उनी प्याराजम्पर हुन पाइनन् । यसलाई उनी गुमेको ठूलो अवसर भन्छिन् ।

प्याराफोल्डरकै रुपमा उनले पछि काम छाडिन् । उनी आजीवन अविवाहित रहिन् । उनको गत वर्ष निधन भइसकेको छ ।

प्रस्तुति : जेबी दर्लामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »