भवानी बराल
विषय प्रवेश :
नश्लको हिसाबले नेपाल मंगोल, आर्य, अष्ट्रो र द्रवीड परिवारका असंख्य जाति समुदाय बसोबास गर्ने देश हो । यसरी नै भाषा परिवारको हिसाबले भोट-बर्मेली (तिब्बतो-बर्मन), भारोपेली, अष्ट्रो र द्रवीड परिवारका असंख्य भाषिक समुदायहरु छन । तर ती सबै जातीय तथा भाषिक समुदायहरु अल्पसंख्यामा छन् । कुनै एक जातीय तथा भाषिक समुदाय बहुसंख्यामा छैनन् । सभ्यताको हिसाबमा पनि नेपाली समाज विविधतापूर्ण छ ।
ऐतिहासिक तथ्य, सामाजिक बनोट, सभ्यता मूल्यमान्यताका आधारमा दुई जातिहरु (जातवाला जाति र जनजाति) छन् । बसोबास, थातथलो, भूमिसँगको ऐतिहासिक सम्बन्ध र निरन्तरताको हिसाबले आदिवासी र गैरआदिवासी छन् । समाज विकासक्रमको चरणबाट गण, कविला, जाति र राष्ट्रहरु छन् । शोषण, उत्पीडनको हिसाबले शोषित उत्पीडित जाति र शोषक उत्पीडक जाति र सामाजिक सास्कृतिक रुपमा दलित उपेक्षित जाति समुदाय छन् । तर एउटै जातिभित्र पनि शोषक र शोषित छन् । वर्गीय आधारमा फरक जातिका शोषक-शोषकबीच शोषित-शोषितबीच पारस्परिक मेल र शोषक र शोषितबीच विरोध पनि छ । धार्मिक सांस्कृतिक हिसाबमा पनि नेपाली समाज विविधापूर्ण छ । समग्रमा नेपालको यो भूखण्डको जनसाङ्ख्यिक तस्बिर हो।
राष्ट्र र राष्ट्रियता :
राष्ट्र अंग्रेजी नेशन शब्दको पर्यायवाची शब्द हो। यो शब्द लेटिन भाषाको नेसियो शब्दबाट आएको हो । नेसियोको अर्थ जन्म वा जाति हुन्छ । जन्म तथा जातिको बन्धनबाट बाँधिएको समुदाय नै राष्ट्र हो । दर्शनशास्त्री बर्गेल्सले एकै नश्ल सम्बन्धी एकताबद्ध जनता जुन भौगोलिक एकताको कुनै भूभागमा बसोबास गर्दछन् । अंग्रेजी शब्दकोशले ‘साझा इतिहास, भाषा र विशेष क्षेत्रमा बसोबास गर्ने मानिसहरुको ठूलो समुदाय’ (Large community of a people a common history, language and having in a particular territory.) यस्तो भाषामा परिभाषित गरेको छ ।
स्टालिनले राष्ट्रको परिभाषामा भनेका छन ‘राष्ट्र भनेको ऐतिहासिक रुपले विकसित स्थीर मानव समुदाय हो, जुन साझा संस्कृतिमा प्रतिविम्बित हुने साझा भाषा , साझा भूभाग, साझा आर्थिक जीवन र साझा मनोवैज्ञानिक संरचनाको आधारमा निर्मित हुन्छ ।’
वीपी कोइरालाले भनेका थिए, ‘राष्ट्र भनेको कुनै भूभागको ढुङ्गो, माटो, खोलानाला र साँधसीमा मात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो ।’
यसरी राष्ट्रका बारेमा विद्वानहरुले अनेक परिभाषा गरेका छन् । दोस्रो जनान्दोलनको सफलतापछि बनेको अन्तरिम संविधान २०६३ को भाग १ धारा ३ मा राष्ट्रको परिभाषा : ‘बहुधार्मिक, बहुसाँस्कृतिक विशेषतायुक्त, समान आकांक्षा र नेपालको राष्ट्रियता स्वतन्त्रता, जनता समष्टि रुपमा राष्ट्र हो ।’
यसरी नै नेपालको संविधान २०७२ भाग १ धारा ३ मा राष्ट्रको परिभाषा यो भाषामा गरिएको छ : ‘राष्ट्र बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहसांस्कृतिक विशेषतायुक्त भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्टिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो।’
सबै परिभाषाहरुले राष्ट्रको रुपमा जनसमुदायलाई सम्बन्धित गराएका छन् । यस अर्थमा राष्ट्र र राज्यमा अन्तर छ । राज्य भनेको सुसंगठित सार्वभौम एकाई हो । राष्ट्र भनेको जनताको जाति, भाषा, धर्म, संस्कृति, रीतिरिवाज, चालचलन आदिबाट सिर्जित भावानात्मक एकीकरण र व्यवहारको समानता हो । राष्ट्रियता भनेको राष्ट्रप्रतिको आस्था वा राष्ट्रहितको भावना हो । राष्ट्रलाइ प्रेम गर्नु नै राष्ट्रियता हो । यसैलाई हामी राष्ट्रको साँचो अर्थमा पहिचान भनेर बुझ्न सक्छौं । राष्ट्रियता भनेको कुनै विशेष राष्ट्रको सदस्य हो । यसैले अंग्रेजी शब्दकोशहरुका परिभाषामा कुनै विशेष राष्ट्रको सदस्यता । (Membership of a particular nation.) भनेर उल्लेख गरियो । यस अर्थमा मगर एउटा महत्वपूर्ण राष्ट्र हो । यसैले मगरात स्वशासनको माध्यमबाट राष्ट्रियताको सवाल हल गर्नु पर्छ ।

लेखक
मगर र मगरात स्वशासन :
मंगोल नश्ल र भोट बर्मेली भाषा परिवारको मगर जाति नेपालको एक प्रमुख आदिवासी जनजाति हो । विसं २०७८ को जनगणना अनुसार आदिवासी जनजातिमध्ये सबैभन्दा बढी जनसंख्या भएको समुदाय हो । पछिल्लो तथ्याङ्क अनुसार मगर जातिको कुल जनसंख्या २० लाख १३ हजार ४९८ अभिलेख गरिएको छ । यो कुल जनसंख्याको ६.९ प्रतिशत हो । भाषिक भिन्नतालाई आधार मान्दा मगर तीन उपजातीय समूहमा छन् । अहिलेसम्म भएका अध्ययन अनुसन्धान अनुसार काली गण्डकीवारिका १२ मगराती समूह, काली गण्डकीपारिका १८ मगराती र डोल्पासहितका हिमाली जिल्लाका काइके समूहको समग्र पहिचान नै मगर जाति समुदाय हो । राप्ती र गण्डकी प्रस्रवण क्षेत्रको पहाडी भूभागमा आदि थातथलो भएका मगरहरु देशका अन्यत्र भूभागमा पनि छरिएर रहेका छन् । यसमध्ये १२ मगरातको आदि-थातथलो पाल्पा, तनहुँ, गुल्मी, अर्घाखाँची, म्याग्दी प्युठान, बागलुङ र पर्वत हो । यसरी नै १८ मगरातको रोल्पा, रुकुम र काइकेको डोल्पासहितका हिमाली जिल्ला । वर्तमानको जनसंख्या वितरण अनुसार लुम्बिनीमा ३७ प्रतिशत, गण्डकीमा २३ प्रतिशत, बागमतीमा १० प्रतिशत, कोसीमा ९ प्रतिशत तथा कर्णाली र सुदूरपश्चिममा ३/३ प्रतिशत रहेको छ । यो भौगोलिक निरन्तरताले मगरात स्वशासन निर्माण गर्ने सहज छाँयाछवि प्रस्तुत गर्दछ ।
स्वशासनको प्रश्न :
नेपालको यो भौगोलिक स्वरूप निर्माण भए यता नेपाली समाजमा भएको उत्पीडन कुन कुन रुपमा प्रकट भए तिनै आधारलाई स्वशासनसहितको संघीय राज्य निर्माणले सम्बोधन गर्नुपर्छ । सबैले ठहर गरेको कुरो हो विगतमा नेपालमा वर्गीय, जातीय, भाषिक सांस्कृतिक, क्षेत्रीय, लिंगीय उत्पीडन भयो । अहिलेसम्म त्यसैको निरन्तरता छ । यसर्थ स्वशासित राज्य वर्गीय, जातीय, क्षेत्रीय, लिंगीय समस्याको समाधान गर्न निर्माण गर्ने हो । अर्को नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक मुलुक हो । यी समस्या समाधान गर्न पनि स्वशासनको आवश्यकता परेको हो । यस मानेमा जातीय र भाषिक विशिष्टता सम्बोधन नगरि नहुने विषय हो । तर जातीय र भाषिक विशिष्टतालाई सम्बोधन गर्ने स्वशासनको सिद्धान्त आत्मनिर्णयको अधिकार तथा स्वायत्तताको योजना तथा कार्यक्रम आकर्षित हुन्छ । राजनैतिक विज्ञानमा भएको आत्मनिर्णयको अधिकारको नीति एवम् स्वायत्तताको योजना तथा कार्यक्रमरहित संघीयताको सिद्धान्त हुन सक्तैन ।
स्वशासनको आधार नेपाली सामाजिक समुदायको राष्ट्रियतासँग अन्तरसम्बन्धित छ । हरेक नेपाली समुदायको राष्ट्रियता कहाँ छ भनेर खुट्याउन सक्दा मात्र स्वशासित संरचनाको आधार भेट्न सकिन्छ । यो आधारबाट राष्ट्रियता पहिचान गर्न सकिन्छ । साझा भाषा, साझा भूगोल, साझा मनोविज्ञान र साझा अर्थ जीवनको आधारमा नेपालमा मगर जाति समुदाय राष्ट्रको योग्यता क्षमतामा पुगेको छ । ती राष्ट्र तथा राष्ट्रोन्मुख जातिको भौगोलिक ऐतिहासिक निरन्तरता वर्तमानमा पनि छ । अर्को भाषिक आधारमा भाषा साझा छ, जातिहरु फरक छन् तर भूगोल मिलेको छ भने भौगोलिक आधारमा त्यस्ता समुदायको पहिचान बनाउन सकिन्छ । तर मगरात स्वशासनको प्रश्न जटिल छैन । थातथलोमा ऐतिहासिक निरन्तरता छँदैछ । केही भाषिक भिन्नता बाहेक ।
यसर्थ मगरातमा जातीय पहिचान, ऐतिहासिक तथा भौगोलिक निरन्तरताका आधार एवम् जातीय ऐतिहासिक पृष्ठभूमिको आधारमा स्वशासनसहित संघीयतामा जान सकिन्छ । तर, इतिहासको विभिन्न कालखण्ड गुज्रेर जाँदा आर्थिक, सामाजिक-सांस्कृतिक सन्तुलन भङ्ग भइसकेको छ । त्यसकारण सम्बन्धित जातीय समुदाय र गैर जातीय समुदाय दुवैको मुक्तिको हल गर्ने संरचना निर्माण गर्नु जरुरी हुन्छ। रैथाने जाति र गैर रैथानेबीचको अन्तरविरोधको हल गर्ने वा समायोजन गरेर राष्ट्रिय राज्यको परिकल्पना गर्नुपर्छ तर सम्बन्धित जातिको उत्पीडनको आधारलाई यहाँ ख्याल गर्नुपर्छ । सम्बन्धित जातिको जातीय स्वायत्तता अनिवार्य शर्तका रुपमा अगाडि आउँछ । सँगसँगै गैर जातिको मुक्तिको प्रश्न पनि हल हुनुपर्छ । यसर्थ नयाँ नेपालको आधुनिक संघीय संरचना यही सिद्धान्तबाट मात्र निर्माण हुनसक्छ ।
सिमाङ्कनः
पहिलोपटक विभिन्न आन्दोलनले माग गरेका र ऐतिहासिक प्रमाणका आधारमा प्रदेशको सिमाङ्कन गर्नु जरुरी छ । राजनीतिक अभ्यासका क्रममा फेरि पनि सम्मिलन गर्न सकिन्छ तर पहिलोपटक ऐतिहासिक पृष्ठभूमिका आधारमा सिमाङ्कन गराउनु पर्छ। राप्ती र गण्डकी प्रस्रवण क्षेत्रको पहाडी भूभागमा आदि थातथलोलाइ प्राथमिकता दिनु उपयुक्त हुन्छ । अर्थात १२ मगरात, १८ मगरात र तीन हिमाली जिल्ला स्वशासनका उपयुक्त सिमाङ्कनको प्राथमिक आधार हुन् । हुन त मेरो ‘यस्तो हुनुपर्छ राज्यको संरचना’ पुस्तकमा कालीगण्डकी नदीदेखि भेरी नदीसम्मको सघन बसोबास भएको पहाडी भूभागलाइ प्राथमिक प्रस्ताव गरिएको थियो । यस सन्दर्भमा डोल्पा जिल्लाको भेरी नदीले सीमाबद्ध गरेको पूर्व रुकुम, सल्यान, रोल्पा, प्युठान, गुल्मी, पाल्पा, बागलुङ, अर्घाखाँची, म्याग्दी र भेरीपूर्व डोल्पाको भूभाग प्रारम्भिक प्रस्ताव गरिएको थियो । यसो नगर्दा त्यसले ठाडो, तेर्सो सबै झगडालाई निम्त्याउँछ र संघीय संरचना बन्नै नसक्ने झगडाको बिउ हुने आंकलन गरिएको थियो ।
संघीयताको कार्यक्रम : स्वायत्तताको योजना
संघीयताबाट स्वशासन र स्वायत्तता झिकिदिने हो भने त्यो एकात्मक चरित्रको हुनेछ । दुनियाका संघीय राज्यहरूबाट अनेकन संघहरूको माग हुनुको पछाडि रहस्य स्वशासनको अभावले हो । भारतमा स्वशासन छैन प्रदेशहरूमा । यसर्थ त्यहाँ धेरै प्रदेशहरूको माग भैरहेको छ । भाषाका आधारमा मात्रै २२ वटा राज्यको माग भारतमा भैरहेको छ । यसर्थ स्वायत्तताको योजना वा स्वशासनविना संघीय रचना दीर्घ र संस्थागत हुन सक्तैन ।
रहलपहल :
संविधानत: परिभाषित राष्ट्रको परिभाषा अनुसार राज्य निर्माण गर्दा मात्र आन्तरिक औपनिवेशीकरणको अन्त्य हुन्छ । राष्ट्रमा पछाडि पारिएका वा परेकाहरुले पहिचानमार्फत वीपीले भनेझैँ राष्ट्रको सार सभ्यता, संस्कृति र मनोभावको माग गरेका हुन् । यति नै बन्दोबस्त गर्दा राष्ट्र बन्ने र राष्ट्रियता सुदृढ हुने कुरामा हलो अड्काउनु मुनासिव लाग्दैन । आन्तरिक औपनिवेशीकरणको अन्त्यविना समग्र राष्ट्रियताको विकास र समृद्धिको कल्पनासम्म गर्न सकिन्न । राष्ट्रियताको सवालमा मगरात स्वशासनको प्रश्न यहीँनेर आएर हल हुन्छ । नेपाली जनताबीचको आधारभूत अन्तरविरोधको अन्त्य नै राष्ट्र निर्माणको जग हो । यो जग नेपाली राष्ट्रियता सुदृढीकरणको कोशेढुङ्गा सावित हुनेछ ।
सन्दर्भ सामाग्री :
१. बराल भवानी : यस्तो हुनुपर्छ राज्यको संरचना, प्रकाशक बुक क्लब ०६१,
२ बराल भवानी र तिगेला कमल लिम्बुवानको राजनीति, प्रकाशक बुक क्लब ०६४
३. बराल भवानी : जान्नै पर्ने राजनीतिका कुरा ०६२
४. बराल भवानी : राज्यको नयाँ रचनामा माओ विचार ०६७
५. केन्द्रिय तथ्याङ्क विभाग पपुलेसन सेन्सस २०७८
६. राज्यको पुनर्सरचना तथा राज्य शक्तिको बाँडफाँड समिति : अवधारणा र प्रारम्भिक मस्यौदा सम्बन्धि प्रतिवेदन २०६६
७. कपुर एन. के: राजनीतिक विज्ञान के सिद्धान्त हिन्दी
(२०८२ माघ ५ र ६ गते, रोल्पाको जेलबाङमा आयोजित मगरात स्वायत्तता र मगर दर्शन विषयक दुई दिने कार्यशाला गोष्ठीमा लेखकले प्रस्तुत गरेको कार्यपत्रबाट साभार)















Leave a Reply