Advertisement

किताब कुराकानी : नारायणबहादुर गाहा मगर ‘नालन’

Narayan Gaha buddhist Nepali

नालन उपनामले परिचित नारायणबहादुर गाहा मगर भाषाविज्ञ हुनुहुन्छ । यसअघि पनि उहाँका केही किताब प्रकाशित छन् जसमा ‘मगर ढूट कुट पइङ ?’ (मगर भाषा कसरी खोजौँ ?) नामक पुस्तक विभिन्न विद्यालयमा पठनपाठन समेत भइरहेको छ ।
किताबकै सेरोफेरोमा रहेर मगरात डट कमले उहाँसँग गरेको कुराकानीको संक्षेप यहाँ प्रस्तुत गरेका छौँ—

लेखक

*यो किताब लेख्न तपाईंलाई कति समय लाग्यो ?
**मलाई यो किताब लेख्न पूरै तीन महिना लाग्यो । यो समयभरि म यही किताबकै बारेमा मनैदेखि लागेँ ।
*किन लेख्नुपर्छ भन्ने लाग्यो त ?
**किनकि यस खालका किताब हाम्रो समुदायका लागि कम नै देखियो । अर्को कुरा, मगर साहित्य महोत्सव २०८१ को मूलनारा छ, आफ्नो कथा आफै लेखौँ । यसबाट पनि म अभिप्रेरित भएँ । यिनै कारण यो किताब लेख्ने निचोडमा पुगेको हूँ ।
*लेख्दैगर्दा केकस्ता खालका बाधा अड्चन आइलागे ? भन्न मिल्छ ?
**सबैभन्दा ठूलो समस्या त आर्थिक नै रह्यो । हामीजस्ता काठमाडौं बाहिर बसेर लेख्नेहरूका लागि प्रकाशक पाउनु नै असम्भवजस्तो छ । त्यसो हुँदा आफूले लेखेको किताब आफै छाप्नुपर्ने अवस्थामा हामी छौँ । अरु समस्याका कुरा गर्दा सन्दर्भ स्रोतहरू जुटाउन पनि उत्तिकै गाह्रो थियो ।
*सन्दर्भ स्रोतका कुरा गरिहाल्नुभयो । यो किताबमा पनि सन्दर्भ सामग्रीहरूको उद्धरण गर्नुपरेको थियो ?
**सन्दर्भस्रोत भन्नुपर्दा मैले पहिल्यै छापिएका मेरै किताबबाट पनि केही साभार गरेँ । विशेषतः गुरु विदुरमान भोमजनज्यूबाट साथ सहयोग रह्यो ।
*यस पुस्तकको खास सन्देश के हो त ?
**हाम्रो जीवनको हरेक क्षणमा व्यवहारिक बन्नका लागि पञ्चशील नामै काफी भन्ने मलाई लाग्छ । मगर संस्कार र बौद्ध दर्शनले हरेक मानव र प्राणीको हितको कुरा गर्छ । सही नियम पालन गरेको खण्डमा जीवन ज्यूनु भनेको एक कला पनि हो । यो किताबले यस्तै भाव र सन्देश प्रवाह गरेको छ ।
*किताब लेख्दैगर्दाका सुखद् सम्झनाहरू पनि त होलान् नि ? होइन र ?
**किताब लेख्दैगर्दा कसरी किताब पूरा गर्ने र यसलाई कसरी पठनीय बनाउने भन्नेमा ध्यान केन्द्रित गराउन पाएँ । किताब र यसको विषयभन्दा बाहिर सोंच्ने फुर्सद नै भएन । यो अवस्था नै मेरो लागि सुखद रह्यो ।
*अरु केही सम्झना ? किन लुकाउनुभाछ ? भन्नुस् न ?
**किताब लेख्ने क्रममा रातिमा राम्रो निद्रा पर्न छाडेको थियो । बिहान पनि चाँडै नै उठ्ने गरेँ । यस्तै थियो ।
*लेखनसम्बन्धि आगामी योजना केके छन् त ?
**केही किताब कापीको पानामा तयार हुँदैछन्, केही किताब मनका पानामा । योजना त लेखिरहने नै छ । मगर भाषामा लेखिरहेको किताब पनि पूरा गर्नु छ । यस्तै यस्तै योजनाहरू छन् ।
*धन्यवाद तपाईंलाई ।
**तपाईं र मगरात डट कमलाई पनि धन्यवाद ।

यो किताब पहिलो मगर साहित्य महोत्सव २०८१ (मंसिर २१ र २२ गते) जितगढी किल्लामा विमोचन हुने भएको छ । (मगरात डट कम)

किताब : व्यवहारिक जीवनमा पञ्चशील

प्रकाशक : किशोर आले मगर
प्रकाशन मिति : २०८१ मंसिर
पृष्ठसंख्या : ७२+४
मूल्य रु. : २००

प्रस्तुति : जेबी दर्लामी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »