Advertisement

हामीले नचिनेका नायक

समरजीत थापा
भदौ महिना धेरै कार्यक्रमहरूमा सहभागी हुने मौका प्राप्त भयो । तीमध्ये दिवंगत नेता गोरेबहादुर खपाङ्गी मगरको स्मृतिसभा मेरा लागि विशेष रह्यो ।
भदौ १० गते साँझ मित्र राम अस्लामी मगरले फोनमा भन्नुभयो, ‘हामीले भोलि १ बजे गोरेबहादुर खपाङ्गीको ८औं स्मृति सभा राखेका छौँ । कार्यक्रम अन्तक्र्रियात्मक प्रकारको हुनेछ । तपाईं र साथीहरूलाई निम्तो भयो ।’
त्यो साँझ मैले खपाङ्गीका बारेमा धेरै कुरा सोचेँ । जुनबेला उनी जनमुक्ति पार्टीका नेता थिए, म र हामी ‘बूढाले जातीय कुरा गर्छ’ भन्ने समूहमा थियौँ । हामी त ‘वर्गीय कुरा पो गर्नुपर्छ’ भन्ने टोलीमा थियाँै । ‘नेपालमा त जत्रतत्र वर्गीय समस्या छ, कहाँ जातीय समस्या छ र ?’ भन्ने एक रङ्गीन दुनियामा रमाइरहेका थियौँ । तर, जुन समय आँखा खुल्यो, जुन बेला यो थाहा भयो कि नेपालको समस्या त जातसँगै जोडिएर आएको वर्गीय पनि हो, त्यसबेला सायद घाम अस्ताइसकेको थियो ।
जहिलेदेखि वास्तविक समस्या मेरा आँखामा देखा परे, तहिलेदेखि मनमा अनेकन् प्रश्न ओइरिन थाले । सडकमा नाङ्गैबुङ्गै भएर काम गर्ने ज्यामीहरू किन दलित र जनजाति समुदायका छन् ? ठूला भनिएका सहरहरूमा सानो भनिएको काम झाडूपोछा गर्नेहरू किन प्रायः एकै जातिका छन् ? हरेक वर्ष मनसुनमा भीर पहिरोमा परेर जीवन गुमाउनेहरू किन एउटै वर्णका धेरै छन् ?
यही प्रश्नको जवाफ त खोजेका थिए नि खपाङ्गीले— ‘राज्यका हरेक निकायमा जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व ।’ यत्ति थियो उनको कुरा । उनको माग । उनको शर्त । अर्थात् नेपालको कुल जनसंख्यामा मगर जातिको संख्या ७ प्रतिशत छ भने, २७५ सदस्यीय प्रतिनिधिसभामा कम्तीमा त्यसको ७ प्रतिशत भनेको १९ जना सांसद मगर समुदायका हुनुप¥यो । त्यसैगरी सिंगो आदिवासी समुदायको संख्या नेपालमा लगभग ३६ प्रतिशत हो भने प्रतिनिधिसभामा ९९ जना सांसद यही समुदायबाट आउनुप¥यो । उसरी नै दलितको जनसंख्या २० प्रतिशत र त्यसको हुन आउने ५५ जना प्रतिनिधिसभा सांसद दलित समुदायकै हुनुप¥यो । यसरी नै सबै जाति र समुदायको प्रतिनिधित्व उसको जनसंख्याको आधारमा हुनुप¥यो । कति सजिलो सुत्र थियो समानुपातिक व्यवस्थाप्रति खपाङ्गीको । यसो हुँदा हरेक समुदायको प्रतिनिधित्व संसदमा मात्र होइन राज्यका सबै निकायमा समानुपातिक तवरमा हुन्थ्यो । कुनै सरकारी कार्यालयमा १०० जनाको दरबन्दी भएमा ३६ जना आदिवासी जनजाति, २० जना दलित, १६ जना क्षेत्री, १२ जना बाहुन र अरू पनि समुदायको यसरी नै समान सहभागिता हुनेथियो । आज त्यस्तो भएकै छैन । यहाँ समानुपातिक र समान सहभागिताका जतिसुकै ठूला कुरा गरे पनि व्यवहारमा त्यसलाई प्रत्याभूत गर्न पाइएको छैन । आज पनि संसददेखि टोल विकास संस्थासम्म असमानताका नजीर प्रशस्तै देख्न पाइन्छन् ।
बाख्राको प्रतिनिधि चितुवा हुन सक्दैन । यसलाई यसरी पनि भनौँ, चितुवाको प्रतिनिधि बाख्रा हुन सक्दैन । यसरी नै संसदमा एउटा थारुको प्रतिनिधि मगर हुन सक्दैन । किनकि त्यो समुदायको अनेक चालचलन, संस्कार र संस्कृति, समस्या, सबलता र दूर्बलता एउटा मगरलाई थाहा हुँदैन । थारु बस्तीमै जन्मे हुर्केको नै भए पनि आन्तरिक अनुभवको तहसम्म एउटा मगरले थारु समुदायको मनोविज्ञान बुझ्नै सक्दैन । त्यसरी नै दलितको प्रतिनिधि बाहुन हुनै सक्दैन । किनकि दलन र छुवाछुतको जुन राप दलितले व्यक्तिगत र सामुदायिक तवरमा भोगेको छ, त्यो अनुभव एउटा बाहुनसँग हुनै सक्दैन ।
संसद भनेको त नीति नियम तर्जुमा गर्ने थलो हो । त्यहाँ हुने सबै क्रियाकलापको सिधा असर यो देशको नीति निर्माणको मामिलामा देखा पर्ने नै भयो । संसदमा गएको एउटा चितुवाले कसरी बाख्राको फाइदाको नियम बनाइदिन्छ र ? किनकि ऊ त चितुवाको प्रतिनिधि हो । आजसम्म भएको यही नै हो ।
यति सरल कुरा पनि किन हामीले समयमै बुझ्न सकेनौँ ? किन हामीले खपाङ्गीलाई पत्याउन सकेनौँ ? क्षेत्री बाहुन नेताको कुरा आँखा चिम्लेर विश्वास गर्ने मगर जातिले आफ्नै समुदायको नेतालाई किन विश्वास गर्न सकेनौँ ?
त्यो साँझ यिनै प्रश्नले मेरो मथिंगलमा आउँदै हिर्काउँदै गरिरहे ।
हामी त टाँगाका घोडा बनेका रहेछौँ । जताततै वर्ग देख्ने । आफ्नै जातिमाथिको थिचोमिचो र अन्याय अत्याचार पनि देख्दै नदेख्ने । बडा वर्गीय मुक्तिका लागि लड्यौँ । आफ्नै समुदायमाथि राज्यस्तरबाटै भइरहेको अनेक षड्यन्त्र भने हामीले देखेनौँ । विडम्बना । ती षड्यन्त्रविरुद्धमा लड्ने ह्याउ त सायद हामीले गुमाइसक्यौँ अब ।
मैले खपाङ्गीका बारेमा बोल्न सक्ने केही पनि थिएन । तैपनि कार्यक्रममा गएँ । नेपाल मगर युवा संघले यो कार्यक्रमको आयोजना गरेको रहेछ । आयोजनास्थल थियो, नेपाल समाजवादी पार्टीका एक नेताको घर । वक्ता थिए विविध दलमा आस्था राख्नेहरू । मलाई चाहिँ साहित्यकारका रुपमा वक्ताको ठाउँ दिइएको थियो ।
मेरो प्रस्तुति त फितलै थियो तर कार्यक्रमको अरू भाग आफैंमा विशिष्ट खालको रह्यो । यो कार्यक्रम नेपाल मगर संघले देशैभर सर्कूलर जारी गरेरै आयोजन गर्नुपथ्र्यो । झट्ट मलाई यस्तै लागेको थियो, हिंजोपख । किनकि खपाङ्गी कुनै एक दलको नेता मात्रै थिएनन्, उनी ४ कार्यकाल नेपाल मगर संघ, केन्द्रीय समितिको अध्यक्ष पनि भएका थिए । उनको लोकप्रियताको ‘रेकर्ड’ आजसम्म कसैले ‘ब्रेक’ गर्न सकेको छैन । तर, कार्यक्रमबीचमा उपस्थित सबै पाहुनाहरूलाई नियालिसकेपछि मलाई फेरि लाग्यो, यो काम मगर संघले गरेकै भए पनि यत्तिको निष्पक्ष त गराउनै सक्दैनथ्यो होला । विभिन्न गुट उपगुटमा विभाजित भएर कार्यक्रम नै भाँडिन पनि सक्थ्यो । नभए एक पक्षले अर्को पक्षलाई गाली गर्दै बहिष्कार गर्न सक्थ्यो । ‘तेरो काम अवैधानिक मै मात्र वैधानिक’ भन्दै समानान्तर समितिहरूले अलगथलग भएर एकअर्कालाई गाली बेइज्जती गर्नतिर पो लाग्थे कि ? प्रायः यस्तो देखिएको भोगिएको छ ।
तर आज त कीर्तिमानी ओलम्पियन नामसिंह थापा मगरजस्ता हस्ती पनि आफ्नो बयोबृद्ध उमेरमा समेत दर्शकदीर्घामा बसेर हामीलाई सुनिरहेका थिए । थोरै भयौँ होला पक्कै तर आजको कार्यक्रमको गुणवत्ता नाप्ने कुनै यन्त्र थिएन । सायद मगर संघले औपचारिक घोषणा गरेको भए यो कार्यक्रम यति सुन्दर बन्ने पनि थिएन ।
जीवनको उर्जाशील समय जनमुक्ति पार्टीलाई दिएका गोरेबहादुर खपाङ्गी मगर अन्ततः सो पार्टीको कोपभाजनमा परे । मन्त्री छँदा राजाको हातबाट दशैँको टिका लगाएको सानो निहुँमा उनको पार्टी र मगर समुदायले उनलाई यतिसम्म खेद्यो कि उनी अन्ततः आफूले मलजल गरेर हुर्काइरहेको पार्टीबाट निस्कन बाध्य भए । मोटरसाइकलको ठक्करबाट (सम्भवतः षड्यन्त्रपूर्वक) उनको मृत्यु (हत्या) भएको पनि ८ वर्ष भइसकेछ । यति लामो समय बित्दा पनि उनलाई क्षमा दिन नसकेका मगरहरू आज पनि छन् । यस घटनाले राम्रा कुरा बिहानको साँझै बिर्सिजाने र नराम्रा कुरा मृत्युको ओछ्यानसम्मै सम्झिराख्ने हाम्रो प्रवृत्तिलाई देखाउँछ । नत्रभने अदालतले नै भ्रष्टाचारी ठहर गरेकाहरूको शालिक रातारात उभ्याएर जयजयकार गर्नेहरूको भिड पनि त हामीले यही मुलुकमा देखेका छौँ । त्यस्तो भ्रष्टाचार के गरेका थिए र खपाङ्गीले ? राजाको हातबाट टिका नथाप्ने कुन वामपन्थी, कुन दक्षिणपन्थी, कुन समाजवादी, कुन राजावादी, कुन राष्ट्रवादी नै बाँकी थियो र नेपालमा ?
जे भए पनि अब यसप्रकारको कार्यक्रम हरेक वर्ष गरिनुपर्छ । कार्यक्रमको आयोजना स्वतःस्फूर्त होस् । खपाङ्गीलाई कुनै दल या झुण्डमा बाँध्नुहुँदैन । उनी त अब विचारधारा बनिसके । उनको विचार मर्नु हुँदैन । त्यसका लागि जागरुक युवाहरूको भूमिकाको आवश्यकता छ । अर्को वर्षदेखि एक दिन होइन, सप्ताहव्यापी रुपमा खपाङ्गीको स्मरण दिवस मनाइयोस् । सबैलाई शुभकामना ।
रचना मिति : २०८१ भदौ १४

*******

हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचनासुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840, 9705533123

Phone : 071-590477

Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »