Advertisement

रास्कोटीका सुनाखरी

कमल मादेन

पोखराथोक, अर्घाखाँचीका स्थायी बासिन्दा भक्त रास्कोटी (३६) ले सन् २००० मा जीव–विज्ञानमा स्नातक र २००४ मा स्नातकोत्तर तहको अध्ययन सामान्य रूपमा सिध्याएका हुन्। पाल्पामा स्नातक र काठमाडौंबाट स्नातकोत्तर भएपछि उनीविश्व प्रकृति संरक्षण संघ, राष्ट्रिय विज्ञान तथा प्रविधि प्रतिष्ठान आदि निकायमा संलग्न हुँदै सन् २०१२ मा विद्यावारिधिका लागि ‘युनिभर्सिटी अफ चाइनिज एकेडेमी अफ साइन्सेस् बेइजिङ’ पुगे। रास्कोटीको खूबी के भने, उनले विद्यावारिधि शुरू नगर्दै सुनाखरी अर्थात् अर्किडका चार नयाँ प्रजाति पत्ता लगाएका थिए। त्यसयता थप आधादर्जन सुनाखरीका नयाँ प्रजाति पत्ता लगाएका छन्। तीमध्ये दुई नेपालीका नाममा नामकरण गरिएका छन्।

सुनाखरीको रहस्य

डा. रास्कोटीको निम्ति २०१३ निकै महत्वपूर्ण भएको देखिन्छ। त्यो वर्ष उनले पत्ता लगाएका तीन प्रजातिका सुनाखरी सम्बन्धी अनुसन्धान तीन फरक जर्नलमा छापिए। रास्कोटीको अध्ययन–अनुसन्धानमा उनकी जीवनसँगिनी डा. रीता आलेको पनि उत्तिकै योगदान छ। दुवैको रुचि र अध्ययन तह एकै छ। त्यही भएकाले रास्कोटीले छोटै अवधिमा दु्रत सफलता हासिल गरेको भन्न सकिन्छ। यो दम्पतीका सुनाखरी सम्बन्धी आधा दर्जनभन्दा बढी संयुक्त अनुसन्धानात्मक लेख र एक पुस्तक प्रकाशन भइसकेको छ। रास्कोटीले थप दुईवटा पुस्तक लेखेका छन्।

रास्कोटीको विद्यावारिधिसँग सम्बन्धित शोध गत महीना (मे २०१७) को फाइटोकिज्ज जर्नल (भोलुम ७९) मा प्रकाशित भएको छ– ‘अ ट्याक्सोनोमिक रिभिजन अफ हर्मिनियम्’ शीर्षकमा। ‘हर्मिनियम्’ सुनाखरीको एक जिनस (समूह) हो। ८४ पृष्ठको यो अनुसन्धान आलेख वनस्पतिशास्त्रको ‘ट्याक्सोनोमी’ विद्या (पहिचान, वर्गीकरण र नामकरण) मा रुचि राख्नेहरूका निम्ति महत्वपूर्ण छ। मोलेक्युलर तहको यो अनुसन्धानले सुनाखरीका नयाँ रहस्यहरू खोलेको छ।

‘एन्ड्रोकोरिज’, ‘भुटान्थेरा’ ‘फ्रिगीडोर्किज’ र ‘पोरोलावियम’ जिनसका वनस्पतिका बाहिरी संरचना अलिअलि फरक भए पनि तिनका जीन (वंशाणुगत, आनुवंशिक गुण र वंशाणु) ‘हर्मिनियम्’ जिनससँग ठ्याक्कै मिल्ने यो अनुसन्धानको निचोड छ। अर्थात्, डा. रास्कोटीको मोलेक्युलर एनालाइसिस् अनुसार, अब तिनीहरू छुट्टाछुट्टै जिनसको रूपमा अस्तित्वमा रहने आधार छैन।

नाम परिवर्तन : भुटान्थेरा फिम्ब्रिएटा

रास्कोटीको अनुसन्धान अनुसार, नेपालमा पाइने केही प्रजातिका सुनाखरीको नाम अब परिवर्तन गर्नुपर्ने भएको छ। ‘एन्ड्रोकोरिज’ जिनस पनि मोलेक्युलरको आधारमा ‘हर्मिनियम्’ पुष्टि भएकोले नेपालमा पाइने ‘एन्ड्रोकोरिज’ का दुई प्रजाति ‘एन्ड्रोकोरिज जोसेफी’ र ‘एन्ड्रोकोरिज पुगिओनीफर्मिज्’ लाई अब उप्रान्त ‘हर्मिनियम् जोसेफी’ र ‘हर्मिनियम् पुगिओनीफर्मिज्’ भनिनु/लेखिनुपर्छ भने ‘भुटान्थेरा’ जिनसको तीन प्रजातिको नाम पनि स्वतः बदलिन्छ। सुनाखरी सम्बन्धी अनुसन्धानकर्ताहरूमाझ् यो जानकारी पुग्न, उनीहरूका पुस्तक तथा लेखहरूमा लेखिन चाहिं केही समय लाग्ला नै।

अब ‘भुटान्थेरा’ लाई पनि ‘हर्मिनियम्’ भन्नुपर्ने भयो। यस हिसाबले नेपालको रैथाने सुनाखरीको ‘भुटान्थेरा फिम्ब्रिएटा’ प्रजाति अब ‘हर्मिनियम् फिम्ब्रिएटा’ भएको छ। गजब के भने ‘भुटान्थेरा फिम्ब्रिएटा’ पत्ता लगाउने अनुसन्धानकर्ता पनि रास्कोटी नै हुन्। उनले यो सुनाखरीको नमूना लाङटाङ राष्ट्रिय निकुञ्जबाट २००८ मा संकलन गरेका थिए, जुन विश्वको निम्ति नयाँ ठहर भयो। यो अनुसन्धान ‘फाइटोट्याक्सा’ जर्नल (२०१२, भोलुम ६२) मा प्रकाशित भएको थियो, जतिबेला रास्कोटी विद्यावारिधि शुरू गर्दै थिए।

विद्यावारिधि सकेपछि ‘भुटान्थेरा फिम्ब्रिएटा’ प्रजातिलाई उनैले ‘हर्मिनियम् फिम्ब्रिएटा’ नामकरण गरे। अब विश्वले यसैलाई ‘भ्यालिड नेम’ मान्छ। यसको नमूना (होलोटाइप) गोदावरीस्थित राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा संग्रहित छ।

नेपालको रैथाने वनस्पतिको सूचीमा ‘हर्मिनियम्’ समूहको अर्को प्रजाति पनि छ– ‘हर्मिनियम् होङडेयुआनी’। यो पनि रास्कोटीले नै पत्ता लगाएका हुन्। उनले यो प्रजातिको नमूना २०१२ मा चन्द्रागिरिबाट संकलन गरेका थिए, जसको अनुसन्धान आलेख ‘फाइटोट्याक्सा’ (भोलुम ९८) मा प्रकाशित भयो। यो प्रजातिको नामकरणमा चिनियाँ प्राध्यापक होङ डे–युवानले वनस्पति संरक्षणमा पुर्‍याएको योगदानको सम्मान गरिएको उल्लेख छ। यसको पनि होलोटाइप राष्ट्रिय हर्वेरियममा संग्रहित छ। २०१२ यता कसैले यसको थप नमूना संकलन गरेको जानकारी छैन।

डा. भक्त बहादुर रास्काेटी

हर्मिनियम् जिनसमा सूचीकृत सबै प्रजाति गहन अध्ययन पश्चात् ‘हर्मिनियम् गोङगानम्’ र ‘हर्मिनियम् ओर्बिकुलारे’ प्रजाति ‘हर्मिनियम्’ समूहमै नपर्ने जानकारी दिइएको छ, डा. रास्कोटीको लेखले। उनको लेखमा यी दुई प्रजातिलाई यो समूहबाट हटाइएको कारण खुलाउँदै अब संसारभर ‘हर्मिनियम्’ जिनसमा ४९ प्रजाति मात्र सूचीकृत रहेको जनाइएको छ। नेपालमा संकलित यो समूहका २३ प्रजाति विश्वका विभिन्न संग्रहालयमा संग्रह गरिएको लेखबाट बुझ्िन्छ। हाम्रो राष्ट्रिय हर्वेरियम तथा वनस्पति प्रयोगशालामा भने एकदर्जनभन्दा कम प्रजातिका मात्र नमूना छन्। यसअघिका विभिन्न प्रकाशनले नेपालमा यो समूहका ११ प्रजाति पाइन्छन् भन्ने जानकारी दिन्छ।

डा. रास्कोटीले ४९ प्रजातिका २५ सय जति नमूना अध्ययन गरेको बुझिन्छ। तीमध्ये डेढ दर्जन जति प्रजातिका नाम परिवर्तन गरिएको देखिन्छ। यिनीहरू रास्कोटी र उनको टीमले पत्ता लगाएको भन्ने होइन, मोलेक्युलर एनालाइसिस्मा जीन नै फरक पाइएकाले नयाँ नाम दिइएको हो। उसो त पहिलेका नाम पूरै हराउने भन्ने हुँदैन, तिनीहरू विज्ञान जगतमा ‘सिनोनेम’ का रूपमा रहन्छन्।

भक्त रास्कोटी र उनको टीमले सुनाखरी अध्ययन–अनुसन्धान क्षेत्रमा विश्वस्तरकै दस्तावेज दिएका छन्, जसले विश्वका सुनाखरी अध्येताहरूको ध्यान तानेको छ, कति प्रकाशोन्मुख पुस्तक, लेख सुधार्नुपर्ने भएको छ। मैले थाहा पाएसम्म नेपाली मुख्य अनुसन्धानकर्ताको रूपमा विश्वस्तरीय कुनै जर्नलमा यो स्तरको लेख छापिएको थिएन। यसले रास्कोटी र उनको टीमलाई त अब्बल देखाएको छ नै, यो हाम्रो लागि पनि गौरवको सन्दर्भ भएको छ ।

साभार : himalkhabar

******************************

हामी यो अनलाइन पोर्टलको डिजाइन प्रक्रियामा छौँ । आफ्ना लेखरचना, सुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840
Web : https://magaraat.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »