बुटवल, फागुन २, २०८० ।
हरेक वर्षजस्तै यसपटक पनि बुटवलमा प्रथम सहिद क्या. लखन थापामगरको स्मृति दिवस भव्यताका साथ मनाइएको छ । आज बुटवलको लखन चोकमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले राज्यले नै प्रथम सहिदको दर्जा दिइसकेर पनि क्या. लखन थापामगरलाई आजसम्म उपेक्षा गरिरहेको बताएका छन् । सहिद कुनै जातजाति विशेषको नहुने तर लखन थापामगरलाई केही मानिसले अझै पनि साम्प्रदायिक नजरले हेर्ने गरेको उनीहरूले जनाएका छन् ।

नेपाल मगर सङ्घ, जिल्ला समन्वय समिति रुपन्देहीले आयोजना गरेको १४७औँ क्या. लखन थापामगर स्मृति दिवसमा प्रमुख अतिथि मगर सङ्घ केन्द्रिय समिति उपमहासचिव कमला थापामगर, विशिष्ट अतिथिहरूमा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, नेपाल मगर सङ्घ मगरात लुम्बिनी प्रदेशका भाषिक उपाध्यक्ष आनबहादुर सोतीमगर, प्रदेश कोषाध्यक्ष तारा पुनमगर, प्रदेश सदस्य जेबी दर्लामीमगर, नेपाल मगर महिला सङ्घकी केन्द्रिय सचिव तथा रुपन्देही अध्यक्ष चन्दा थापामगर, नेपाल मगर महिला सङ्घ मगरात लुम्बिनी प्रदेश अध्यक्ष केशरी तरामुमगर, मगर युवा सङ्घका अध्यक्ष हेमन्त बुढाथोकीमगर, सल्लाहकार शंकर गाहामगर, मगर सङ्घ बुटवल उपमहानगरपालिका समिति अध्यक्ष बसन्ती साठीघरेमगर, मगर विद्यार्थी संघका अध्यक्ष रमेश सारुमगर लगायत विभिन्न संघसङ्गठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

मन्तव्यका क्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले यस पालिकाका विद्यालयहरूमा पढाई हुने हाम्रो बुटवल पाठ्यपुस्तक अद्यावधिक गरिन लागेको र मगर सङ्घको सुझाव पाए प्रथम सहिद क्या. लखन थापामगरको जीवनी समावेश हुने बताएका थिए ।
वि.सं. १८९१ (ई.सं. १८३४) मा हालको गोर्खा जिल्ला बुङकोटमा जन्मिएका लखन थापामगरको जन्मको नाम लक्ष्मण थापामगर थियो । उनले भारतको अल्मोडामा गई औपचारिक शिक्षा ग्रहण गरेको इतिहास छ । त्यसपछि उनलाई ब्रिटिश भारतको तेस्रो गोर्खा राइफलमा भर्ती हुने अवसर प्राप्त भयो । तर उनी त्यहाँ भर्ती भएनन् । उनी आफ्नै देश नेपाल फर्की पुरानो गोरख गणमा भर्ती भए । यसबाट पनि उनको स्वाभिमान, देशभक्ति र स्वतन्त्रताप्रेम जाहेर हुन्छ । अत्यन्त योग्य, सक्षम र तीक्ष्णताका कारण पल्टनमा उनले राम्रै दक्षता हासिल गरे । रणकौशल, सैन्य सङ्गठन, सामरिक योजना, युद्धकला र युद्ध प्रविधिबारे उनलाई धेरै राम्रो जानकारी थियो । त्यही क्षमताका कारण रैतीको छोरो भएता पनि उनी छिट्टै नै (वि.सं. १९२५ मा) कप्तानको दर्जामा उक्लिए । यतिबेला उनी सैन्य जीवनमा प्रवेश गरेको १४ वर्ष पुगेको थियो । दुःखको कुरा जङ्गबहादुर राणाको जहाँनीया शासन सुरु भइसकेको थियो । क्याप्टेन लखन थापामगरले त्यो शासनप्रणालीको विरोधमा मुख खोल्न थाले । जङ्गबहादुर राणाको आदेशमा उनलाई झुण्ड्याएर मृत्युदण्ड दिइयो ।

प्रथम सहिद क्या. लखन थापामगरकाे शालिक, बुटवल
उनले एक्लै नभई व्यापक जनसहभागिता गराई राणा शासनको विरुद्धमा आवाज उठाएका थिए । तसर्थ उनी जनस्तरबाट भएको विद्रोहको नायक थिए । यही कारण उनलाई राज्यले प्रथम सहिदको रुपमा स्वीकारेको छ । तर, राज्यका हरेक अङ्गमार्फत् उनको उपेक्षा भइरहने प्रक्रिया पनि कायम नै छ ।

नेपाल मगर सङ्घ, जिल्ला समन्वय समिति रुपन्देही सचिव ईन्दु थापामगरको सञ्चालन, थर्क बाह्रघरेमगरको स्वागत मन्तव्य र समितिका अध्यक्ष प्रेमबहादुर थापामगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।
******************************
हामी यो अनलाइन पोर्टलको डिजाइन र सञ्चालन प्रक्रियामा छौँ । आफ्ना लेखरचना, सुचना र जानकारी दिएर हामीसँग सहकार्य गर्नुहोला ।
थप जानकारीका लागि:
Email : magaraat.com@gmail.com
WhatsApp : +977-9857052840
Web : https://magaraat.com/


















Leave a Reply