Advertisement

यस्तो छ नेपालमा इतिहास लेखनको १५ सय वर्षे यात्रा

इतिहास भनेको भएको कुरा हो। सत्य असत्यको विवेचना गरी भएको कुरा लेखेको शास्त्र इतिहासका नामले पुकारिन्छ। आजभोलि देशको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक इतिहास भनी भिन्नाभिन्नै वर्गीकरण गरिन्छ। प्राचीनकालमा इतिहासको परिभाषा अर्कै थियो, अर्थात् इतिहास भन्ने बित्तिकै पुराण, इतिवृत्त, आख्यायिका, उदाहरण, धर्मशास्त्र, अर्थशास्त्र आदि बुझिन आउँथे१।

हाम्रो देशमा इतिहास पढ्ने पढाउने लेख्ने प्रवृत्ति छुटेर गएको हुनाले हामी आफ्ना देशको इतिहासदेखि अनभिज्ञ भयौं। हाम्रो देशमा मात्रै होइन, सम्पूर्ण भारतमा पनि इतिहास पढ्ने लेख्ने कुरा छुटयो। इतिहास भनेको आफ्नो देशलाई हेर्ने चिन्ने आँखा हो। जब मानिसले इतिहास बिर्सन्छ, इतिहास जान्दैन, तब उसले आफूलाई आफ्ना देशलाई पनि बिर्सन्छ।

हाम्रा पुर्खाले के गर्दा देशको उत्थान गरेथे, के गर्दा वा के कुरा बिराउँदा उनको अध:पतन भएथ्यो भन्ने कुरा जान्न र जानेर त्यसबाट सबक सिकेर भविष्यमा पाइला चाल्न वर्तमान सम्हाल्न पनि हामी इतिहासकै अध्ययन मननबाट समर्थ बन्दछौं। यसै कुरालाई ध्यानमा राखेर एकजना विद्वान्‌ समीक्षकले लेखेका थिए-

विवेकरूपी गाजलले सफा बनाइएका इतिहास र पुराणरूपी दुई आँखा भएका असल कविले मिहिन कुरा पनि देख्छन्।२

आज हाम्रो देशमा इतिहास पढ्ने, पढाउने, लेख्ने, लेखाउने जुन प्रवृत्ति बढिरहेको छ, यो वर्तमान युगको देन हो, विशेषत: पाश्चात्य विद्वान्‌हरूको संसर्गबाट यो प्रवृत्ति आएको हो भने हुन्छ। जब भारतमा ब्रिटिशसाम्राज्यको सूत्रपात भयो, त्यसवेला त्यहाँको शासन चलाउन उनलाई त्यस देशको अतीतलाई बुझ्नु पर्‍यो, त्यहाँको रीतिस्थिति, रहनसहन, आचारविचार जान्नुपर्‍यो। यसैले उनले त्यहाँको प्राचीनवाङ्‌मयको अध्ययन गर्नका साथै त्यस देशको इतिहास बुझ्न पढ्न लागे।

इतिहास लेख्न चाहिने तात्कालिक साधनस्रोतहरूको शोधखोजको लहर चल्यो, पुराना लिपि अभिलेख पढिन थालियो, उत्खननद्वारा प्राप्त सामग्री मुद्रा, मूर्ति र मन्दिरहरूको अध्ययन गर्न थालियो। वैज्ञानिकरूपले विधिवत् इतिहासको पुनर्निर्माण शुरू भयो। त्यसै संसर्गले नेपालको इतिहासको पनि खोजी प्रारम्भ भयो। विदेशी इतिहासकारहरूले आफ्ना-आफ्ना ढंगले शोधखोज गरी इतिहास लेखेर गए। आज हामी स्वयं आफ्नो देशको इतिहासलाई राम्ररी नियालेर आफ्ना स्रोत र साधनलाई पनि यथार्थसँग अध्ययन गरी आफ्ना देशको इतिहास आफै बनाउन लागिरहेका छौं।

यसो भन्दा यहाँनेर हामीले यो पनि बिर्सनु हुँदैन- हाम्रा प्राचीन आचार्य ठ्याम्मै दृष्टि दिदैनथे, इतिहासको महत्त्व राख्दैनथे, इतिहास पढ्ने पढाउने होइन, प्राचीनकालमा इतिहासको ठूलो महत्त्व थियो। इतिहास पढ्ने पढाउने गरिन्थ्यो। विशेष गरेर देशका भावी कर्णधार राजकुमारहरूलाई त इतिहासको शिक्षा अनिवार्य थियो। यसैले चन्द्रगुप्त मौर्यका महान् मन्त्री अर्थशास्त्रकार आचार्य कौटल्यले लेखेका थिए३-

(राजकमारले) दिनको पहिलो भागमा हात्ती, घोडा रथ अस्त्रविद्याहरूमा तालिम लिनू॥१२॥

पछिल्लो भाग इतिहास पढेर बिताउन॥१३॥

यसरी साङ्गोपाङ्गो इतिहास राजकुमारहरूले पढ्दथे भन्ने कुरा यसबाट स्पष्ट हुन आउँछ। इतिहास अनिवार्य पढ्नुपर्छ भन्ने कुरा मात्रै होइन, यसको महत्त्व गुणगान पनि गाइएको पाइन्छ। अन्त त के वैदिकवाङ्‌मयमै इतिहासविद्याको ठूलो प्रशंसा गरिएको छ। त्यसका एक दुई उदाहरण म यहाँ उद्धृत गर्न चाहन्छु-

जो मानिस दिन-दिनै वाकोवाक्य (प्रश्नोत्तररूपको ग्रन्थ तर्कशास्त्र) इतिहास तथा पुराण पढ्दछ, त्यसले दूध-भातले र मासु-भातले देवतालाई तृप्त गराउँछ। तृप्त भएका देवताहरूले त्यसलाई (पढ्नेलाई) सबै इच्छा भोग पुर्‍याइदिएर तृप्त पारिदिन्छन्४।

चार वेदपछिका वेदका व्याख्या गद्यभाग ब्राह्मणग्रन्थ हुन्। उक्त उद्धरण शतपथ ब्राह्मणको हो। उपनिषद्‌मा पनि इतिहासको पढाइलाई अरू वेदवेदाङ्ग जस्तै महत्त्व दिएको छ। छान्दोग्योपनिषद्को निम्नलिखित वाक्यले सो कुरा स्पष्ट पार्छ। सनत्‌कुमारले सोधेपछि नारदले आफूले पढेका विद्या यसरी वर्णन गरे-

उनले भने, हे भगवान्? मैले ऋग्वेद, यजुवेद, सामवेद, अथर्ववेद गरी चार वेद पढेको छु, पाँचौं वेद इतिहासपुराण पनि पढेको छु, वेदाङ्ग पितृ राशि देव नाय वाकोवाक्य एकायन आदि विद्या तथा देवविद्या, भूतविद्या, क्षत्रावा, नक्षत्रविद्या सर्वदेवयजनविद्या पनि पढेको छु५।

इतिहासलाई पाँचौं वेदकै रूप भनिएको छ। इतिहासलाई वेद हो भनेपछि इतिहासको यसभन्दा अर्को महिमा के भन्नुपर्छ।

यसरी उपनिषद्‌मा इतिहासलाई पञ्चमवेदको रूपमा मानिएको छ। ३ पुराणाभ्यां वेदं समुपबृंहयेत्६ (इतिहास पुराण पढेर वेदलाई बढाऊ) भनेर इतिहासलाई वेदकै रूपमा मानिएको छ। अर्थात् इतिहासलाई पाँचौं वेदकै रूप भनिएको छ। इतिहासलाई वेद हो भनेपछि इतिहासको यसभन्दा अर्को महिमा के भन्नुपर्छ।

इतिहास लोकव्यवहारमा र राज्यसञ्चालनकार्यमा पनि कुशलता प्रदान गर्ने नभइनहुने विद्या हो। प्राचीनकालमा इतिहासका रूपमा लेखिएको ग्रन्थ महाभारत हो। सो ग्रन्थ हिन्दुहरूको एक आदर्श ग्रन्थको रूपमा मानिँदै आएको छ। त्यसमा इतिहासको महत्त्व र अनिवार्यता यसरी प्रकट गरिएको छ-

अज्ञानरूपी अन्धकारलाई नाश पार्ने इतिहासरूपी बत्तीले दुनियाँका भित्री घर सबै राम्ररी देखिने गरी उज्यालो पारिदियो७।

यी सबै कुराबाट प्राचीनकालमा आर्यहरूमा पनि इतिहास पढ्ने पढाउने प्रवृत्ति थियो। जबसम्म आर्यहरूले आफ्नो इतिहासलाई राम्ररी अनुगमन गरिरहे, तबसम्म उनको इतिहास उज्ज्वल रहिरह्यो। उनीहरूले कहिल्यै पराधीन हुनु परेन, विदेशी वैरीहरू पनि परास्त भएर गए। विदेशीले भारतलाई अँचेट्न सकेनन्।

जब भारतवासीले इतिहासतिर दृष्टि दिन छोडे, आफ्नो गौरवमय इतिहासलाई बिर्सेर पारमार्थिक विद्यापट्टि मात्र विशेष जोड दिन थाले, त्यस वेला उनीहरूले विदेशीको वश हुनुपर्‍यो, हजार वर्षसम्म भारतले विदेशीको दासता स्वीकार गरिरहनुपर्‍यो। यो कुरा हामी अहिले भारतको इतिहासको सिंहावलोकन गर्दा यथेष्ट बुझ्न सक्छौं।

अब हामी हाम्रो अर्को छिमेकी देश चीनतर्फ फर्कौं। यसको महत्त्व फेरि अर्को छ। चीनमा भने इतिहासको महत्त्वलाई हृदयङ्गम गरी प्राचीनकालदेखि अनवरतरूपले नटुटीकन इतिहास लेख्ने लेखाउने परम्परा चलेर आइरह्यो। यसको पठनपाठन पनि चलिरह्यो। यसैले यसले आफ्नो स्वतन्त्र अस्तित्वलाई जोगाइराख्न सक्यो। विदेशी साम्राज्यको वशमा भारत जस्तो पर्नुपरेन। भलै विदेशीहरूले आर्थिक राजनैतिक जाल बिछ्याएर व्यापारद्वारा यस देशको शोषण गरे तापनि राजनीतिक अस्तित्व गुमाएर यसले सर्वात्मना परतन्त्रको बन्धनमा चाहिँ पर्नुपरेन, आफ्नो स्वतन्त्र सत्ता संस्कृति, कला, भाषा, साहित्य जोगाइराख्न पनि ऊ समर्थ बनिरह्यो।

चीनमा सच्चा इतिहास लेख्ने पढ्ने पढाउने परम्परा जोगाई अटुटरूपले चलाइराख्न ठूलो संघर्ष गर्नुपरेको थियो। यसका लागि कतिपय सच्चा विद्वान्‌ले आत्मबलिदान पनि गरेका थिए।

चीनमा सच्चा इतिहास लेख्ने पढ्ने पढाउने परम्परा जोगाई अटुटरूपले चलाइराख्न ठूलो संघर्ष गर्नुपरेको थियो। यसका लागि कतिपय सच्चा विद्वान्‌ले आत्मबलिदान पनि गरेका थिए। यसको एउटा उदाहरण म यहाँ प्रस्तुत गर्न लागेको छु।

चीनमा प्राचीनकालमा इतिहास लेख्ने एउटै छुट्टै सरकारी विभागै खडा गरिएको थियो। राज्यका ठूलाठूला इतिहासकार विद्वान्‌ यसमा नियुक्त हुन्थे। यिनको प्रतिष्ठा राज्यका सर्वोच्च भारदारका भन्दा कम हुँदैनथ्यो। दरबारमा, दुनियाँमा, राज्यमा, राष्ट्रमा भइपरिआएका असल खराब दैनन्दिनी घटना टिपेर तिनको यथावत् गुणदोषको चित्रण गरेर विद्वान्‌ इतिहासकारले राख्ने गर्दथे।

विक्रमपूर्व पाँचौं शताब्दीमा चीनमा छीवंशको शासन चलेको थियो। त्यसवेला चुइचु नामक एक शक्तिशाली सेनापतिले राज्यका उत्तराधिकारी एक राजकुमारको दरबारमा बध गरे र शक्ति हातमा लिए। यस कुराको वर्णन गर्दै राज्यका सर्वोच्च विद्वान्‌ इतिहासकारले जस्ताको तस्तै टिपे, अर्थात् सेनापतिले अन्यायद्वारा राजकुमारको वध गरेर अत्याचार गरे भनेर उनले यस कार्यलाई अशुभ कर्मको सूचीमा दर्ता गरिदिए। इतिहासकारले यो सत्य कुरा लेखे देखेपछि शक्तिशाली सेनापतिले आफ्नो विरोधी अशुभ कुरा लेख्ने भनेर क्रुद्ध बनी सत्यवादी विद्वान्‌ इतिहासकारलाई पकडेर तत्कालै प्राणदण्ड दिने आदेश दिए।

ऊ मारिएपछि खाली भएको त्यस पदमा उनैका भाइ अर्का विद्वान्‌ इतिहासकारलाई नियुक्त गरे। परन्त उनी पनि उस्तै सच्चा विद्वान्‌ थिए। उनले पनि पहिले लेखिएको अशुभ कार्यमा दर्ता गरिएको राजकुमारको बधको घटनालाई मेट्न मानेनन्, जस्ताको तस्तै सो लेख पुन: उट्टङ्कित गरिदिए। यसले गर्दा उनीसँग पनि रुष्ट भएका सेनापतिले दाजुलाई जस्तै यिनलाई पनि प्राणदण्डकै सजाय दिए।

त्यसपछि अर्का विद्वान्‌ इतिहासकार यस पदमा बहाल भए। इतिहासकारको पदमा बहाली पाउनेबित्तिकै सत्य इतिहास लेख्ने शपथग्रहण गरेर राजसभा उपस्थित भएर सेनापतिकै सामुन्नेमा आत्माभिमानसाथ उनले भने- “सेनापति। म यस इतिहासको यथार्थ घटनालाई बङ्याएर सत्यमा ओझेल पार्न चाहन्न, म सत्यको पूजाहारी इतिहासप्रेमी हूँ, म मृत्युदेखि त्यति डराउन्न, जति असत्यदेखि डराउँछु, त्यस कारण म पनि यस घटनालाई जस्ताको तस्तै टिपेर अशुभ कार्यकै सूचीमा दर्ता गर्न चाहन्छु।”

यी इतिहासविद् विद्वान्‌को सत्यप्रति यस्तो अटुट आस्था, विद्याप्रति अद्‌भुत प्रेमलाई देखेर अभिमानी सेनानी विस्मित बने, तीनछक्क परे, अब उनको कठोर हृदय पनि पग्लियो। इतिहासकारलाई मार्दैमा सत्य नमर्ने रहेछ भन्ने कुरा महसुस गरेर अब उप्रान्त इतिहासलाई जस्ताको तस्तै लेख्ने छूट दिए९।

विक्रमको छैटौं शताब्दीदेखि आठौं शताब्दीसम्म करीब तीन सय वर्षका उच्च संस्कृतका अभिलेख पाइएका छन्। तिनै अभिलेखको अध्ययन गरी त्यस वेलाको इतिहास लेख्न अहिले हामी उद्यत भइरहेका छौं।

इतिहास लेख्ने यो परम्परा चीनमा त्यसै वेलादेखि यथावत् चलेर आइरहेको छ। बादशाही शासनकालमा कतिसम्म सत्यको आडमा बसेर इतिहास लेखियो, त्यो त चीनको इतिहासको पाना पल्टाएर राम्ररी नहेरेसम्म यथार्थ भन्न त सकिदैन, तर पनि भएका घटना तिथिमितिसहित गरेर प्रत्येक राजवंशका पालामा टिपेका वृत्तान्त भने पाइरहिएका छन्। ती वृत्तान्तहरूबाट नेपालसम्बन्धी पनि धेरै कुरा ज्ञात हुन आउँछन्।

अब इतिहास लेख्ने पढ्ने परम्पराप्रति दृष्टिपात गर्दै आउँदा नेपालको सन्दर्भमा जाऊँ। विक्रमको छैटौं शताब्दीदेखि आठौं शताब्दीसम्म करीब तीन सय वर्षका उच्च संस्कृतका अभिलेख पाइएका छन्। तिनै अभिलेखको अध्ययन गरी त्यस वेलाको इतिहास लेख्न अहिले हामी उद्यत भइरहेका छौं। तर, त्यस वेला आफ्नो देशको इतिहास लेख्ने परिपाटी थिएन। राजवंशको नामावलीसम्म टिपेर राखिन्थ्यो कि पक्का भन्न त सकिदैन। पशुपतिको द्वि. जयदेवको अभिलेखमा लामो लिच्छविराजाको वंशावली दिएकोले नामावली टिपेर राख्नेसम्म चाहिँ गरिन्थ्यो होला।

त्यसपछि इतिहासमा राजाको वंश नामावली पत्ता लाउन पनि हामीलाई धौधौ परिरहेको छ। न लिच्छविकालका जस्ता राम्रा राजकीय अभिलेख नै यस कालमा फेला परे, न अन्य स्रोत नै त्यति राम्रो केही पाइयो। त्यस वेला लेखिएका पुस्तकका पुष्पिकावाक्य र पाछ जयस्थिति मल्लका पालामा लेखिएका वंशावली नै यस वेलाको इतिहास बुझ्ने साधन भएका छन्।

विक्रमको चौधौं शताब्दीमा स्थिति मल्लका पालामा मात्र इतिहासको रूपमा वंशावली लेखियो, त्यो आज गोपालवंशावलीका नामले प्रसिद्ध छ। तर त्यस वेला लेख्नेले के नाम राखेका थिए, त्यो अहिले गूढ नै छ। यो चाहिँ नाम आजभोलिका इतिहासकारबाट राखिएको हो१०।

पृथ्वीनारायण शाहको एकीकरण पछि नेपाली भाषामा लेखिएका धेरै प्रति वंशावली पाइएका छन्। तिनमा एउटा सानो वंशावली अंग्रेजीमा अनुवाद गरेर वि.सं. १८४९ मा नेपाल-चीन युद्धताका नेपाल आउने विलियम कर्कपेट्रिकले प्रकाश पारेका थिए११।

विक्रमको चौधौं शताब्दीमा स्थिति मल्लका पालामा मात्र इतिहासको रूपमा वंशावली लेखियो, त्यो आज गोपालवंशावलीका नामले प्रसिद्ध छ। तर त्यस वेला लेख्नेले के नाम राखेका थिए, त्यो अहिले गूढ नै छ।

त्यसपछि नेपालमा अंग्रेजी रेजिडेन्सीमा आई काम गर्ने डेनियल राइटले अर्को भाषावंशावली अंग्रेजीमा अनुवाद गरी प्रकाशमा ल्याए१२। त्यस्तै वंशावली त्यसपछि नेपालको इतिहासमा काम गर्ने पं. भगवानलाल इन्द्रजी, सिल्भाँ लेवीहरूले पनि उपयोग गरेका थिए।

वि.सं. १९५५ मा बेलायतका प्रा. सेसिल बेन्डाल, बंगालका एशियाटिक सोसाइटीबाट महामहोपाध्याय हरप्रसाद शास्त्री, पं. विनोदविहारी भट्टाचार्यहरू हस्तलिखित ग्रन्थ र ऐतिहासिक सामग्रीको अध्ययन गर्न नेपाल आएका थिए। नेपालको वीरपुस्तकालयमा रहेका हस्तलिखित ग्रन्थको वर्णानात्मक सूचीपत्र २ भाग तयार पारी हरप्रसाद शास्त्रीले प्रकाशमा ल्याए१३।

बेण्डालले हस्तलिखितग्रन्थको पुष्पिकावाक्य र अरू ऐतिहासिक अभिलेखको आधारमा पूर्वमध्यकालको इतिहासको केही झलक सोही सूचीपत्रको प्रस्तावनामा प्रस्तुत गरे१४।

आफ्नो अन्वेषणको सिलसिलामा बेन्डालले वीर पुस्तकालयमा रहेको पशुपतिको उत्पत्ति र गोपालहरूको आगमनदेखि उठान गरी ने.सं. ५०९ (वि.सं. १४४५) सम्मका नेपालका राजा राजभोगवर्ष र इतिहासका प्रमुख घटना टिपिएको भ्रष्ट संस्कृत र पुरानो नेवारी भाषामा भुजिमोल लिपिमा लेखिएको ताडपत्रको पुस्तक फेला पारे। यस पुस्तकका १७ पत्रदेखि ६३ पत्रसम्म र एक अतिरिक्त पत्र गरी जम्मा ४८ पत्र (९६ पृ.) छन्। बेन्डालले यस वंशावलीको फोटो प्रकाश गरी भाषा र शैलीका दृष्टिले ३ भागमा विभाजित गरी पहिलो, दोस्रो, तेस्रो वंशावली भन्ने नाम राखे१५।

त्यसपछिका इतिहासकारहरूले यसलाई बेन्डाल वंशावली भन्ने नामकरण गरी उपयोग गर्न थाले। वीर पुस्तकालयको हस्तलिखित सूचीपत्रमा चाहिँ विषय सुहाउँदो यस ग्रन्थको नाम ‘गोपालवंशादि प्राचीन राजवंशावली’ भनी राखिएको छ। बाबुराम आचार्य, नरहरिनाथ र हामीहरूले चाहिँ गोपालवंशावली भन्ने नामले यसको उपयोग गर्दै आएका थियौँ।

बेन्डालवंशावली प्रकाशमा आएपछि यस ग्रन्थबारे अनेकौं प्रश्न उठेका छन्। विषयगत प्रश्न त छदै छन् तिनका बारेमा अहिले हामीले चर्चा गर्न लागेका पनि होइनौँ। अहिले म यसरी इतिहास लेख्ने पढ्ने पढाउने परम्परा छुटेको अन्धकार जस्तो युगमा एक्कासी आएर यो ग्रन्थ किन लेखियो, स्थिति मल्लपछि यस्तो इतिहास लेख्ने परम्परा किन टुट्यो? यति कुरामा मात्र केही विचार गर्न लागेको छु।

अहिले हामीले पाएका जति वंशावली छन्, गोरखाभाषामा लेखिएका हुँदा गोरखाको उदय उप्रान्त लेखिएका हुन् भन्ने कुरामा कुनै शङ्का छैन।

अहिले हामीले पाएका जति वंशावली छन्, गोरखाभाषामा लेखिएका हुँदा गोरखाको उदय उप्रान्त लेखिएका हुन् भन्ने कुरामा कुनै शङ्का छैन। भ्रष्ट संस्कृत र पुरानो नेवारीमा लेखिएको बेन्डालले पाएको वंशावली एकमात्र सर्वप्राचीन हो भन्ने कुरामा पनि कुनै शङ्का छैन। यसमा ने.सं. ५०९ सम्मका घटना टिपिएका छन् तापनि स्थिति मल्लको अन्तिम पर ने.सं. ५१४-१५ मा यो ग्रन्थ लेखेर तयार पारिएको देखिन्छ।

यसमा ने.सं. ५०८-९ सालसम्मका ऐतिहासिक घटना लगातार टिपिएका र त्यसपछि चटक्कै छाडेर एउटा संस्कार पद्यमा ‘राजा जयार्जुनदेव भागेको बाह वर्षपछि अहिले भक्तपुरमा आफना दिली भारदारको सहयोग पाई दुनियाँको उपर नरम व्यवहार गर्ने गुणी श्रीस्थिति मल्ल नेपाल राष्ट्रका रक्षक भइरहेका छन्१६’ भन्ने वर्णन पाइएकोले ने.सं. ५०२ मा जयार्जुनदेवको अस्त भएको र त्यसको बाह्र वर्षपछि स्थिति मल्लको उदयमा ने.सं. ५१४-१५ तिर यो ग्रन्थ तयार पारिएको थियो भनी लेखिएको हो भन्ने कुरा बुझ्नुपर्छ।

‘मुसलमानको आक्रमणको महामारीमा हाहाकार चलेको वेला भक्तपुरमा ठूलो कष्ट पाएँ१७’ भनी लेखेको हुँदा यो ग्रन्थ लेख्ने मान्छे भक्तपुरका थिए, भक्तपुरमै जयस्थिति मल्लको राजदरबार भएकोले उनैको प्रेरणाले भक्तपुरमै यो ग्रन्थ तयार भएको पनि विदित हुन्छ। संक्षेपमा नयाँ राजा जयस्थिति मल्लले नै नेपालको बितेको इतिहासतिर दृष्टि दिएका थिए, उनको यस देशको इतिहास बुझ्ने जिज्ञासाले प्रेरित भएका केही पुराना कुरा जान्ने पण्डितहरूले यो इतिहास ग्रन्थ तयार पारे भन्नुपर्दछ।

गोपालवंशावली, गोपालराजवंशावली वा गोपालादिप्राचीनराजवंशावलीका नामले हाल प्रचारित प्रकाशित यस ग्रन्थको नाम के थियों, ग्रन्थकारको अभिमत कुन नाममा थियो, अहिले हामीले यसलाई के भनेर पुकार्न उचित पर्ला भनेर पहिले अलिकति विचार गरौं। यस वंशावलीमा पहिले गोपाल महिषपाल राजाको नामावली दिएर ३२ किरातराजाको नाम दिइएको छ। त्यसपछि किरातलाई जितेर आउने लिच्छविवंशको वर्णन गरिएको छ, बीचमा अंशुवर्मा र गुप्तवंशी उपराजको वर्णन गरी लिच्छवि राजवंशको नाम भोगवर्ष दिँदै ल्याएर देवपदधारी राजाकै नामावली दिएर पछि मल्लवंशको वर्णन गर्दै स्थिति मल्लको समयमा ल्याएर छाडिएको छ।

यसकारण गोपालवंशावली भन्ने नामले पुकार्दा यसको सही नाम हुँदैन। यो एकदेशीय हुन आएको छ। हस्तलिखित सूचीपत्रको लामो नामले अर्थबोध त गर्छ, तर त्यो पनि पछि कथिएको कल्पित नाम पर्‍यो। यसैले यस पुस्तकभित्रको अध्ययन गरेर यसको सही नाम फेला पार्नुपरेको छ।

भारतमा इतिहास लेख्ने पढ्ने पुरानो परम्परा टुटिसकेको थियो, भारतवासीले आफ्नो गौरवमय इतिहास बिर्सेर आफ्नो राजनैतिक पतन गराइसकेका हुँदा नै विदेशी मुसलमानी शक्तिको अगाडि घुडा टेक्नुपयो।

मूल ३० क पत्रमा स्थिति मल्लको वर्णन गर्दागर्दै अकस्मात् त्यो प्रसङ्ग छोडेर ३० ख पत्रमा विष्णुगुप्त राजा र चार नारायणको चर्चा गरी- ‘स्वस्तिः भतवृतान्तर लिखितञ्च श्रृणु’ भनेर ने.सं. १७७ मा शङ्करदेवका छोरा शिवदेव जन्मेको कुरादेखि उठाएर राजा राजपुत्र र भारदारहरूको जन्म मृत्यु भोगवर्ष विशेष घटना टिपिएका छन्। हाल छापिएको संस्करणमा भत वृत्तान्तर पाठ छापिएको छ१८। तापनि पहिले छापिएको पाठ भूतवृत्तान्तर थियो१९।

मूल हेर्दा पहिले छापिएको पाठ नै मैले सही ठहराएको छु२०। भूतवृत्त भनेर यहाँ इतिवृत्तलाई बुझाउन खोजिएको छ। यसको नेपालीमा भन्नुपर्दा ‘भएको कुरा’ भन्नुपर्छ। पहिलो भएका वृत्तान्तलाई च्युतसंस्कृतमा लेखिसकेपछि अर्धसंस्कृत जस्तो नेवारी भाषामा वृत्तान्त सुन भनेबाट पहिले लेखेकै इतिवृत्तलाई पुनः अर्को ढंगले प्रस्तुत गरेको रहेछ भन्ने बुझिन आउँछ।

यसरी मूलग्रन्थकै भित्र गडेर हेर्दा यसको नाम भूतवृत्त (भएको कुरा) इतिवृत्त भन्ने देखिन्छ२१। पहिलो भूतवृत्त लेखेर दोस्रो भूतवृत्त नेवारीबहुल भाग हो भन्ने पनि बुझिन्छ। यसबाट हामीले यहाँको भूतवृत्त वा इतिवृत्त भनेर बुझाउन हाल नेपालेतिवृत्त वा नेपालभूतवृत्त भन्ने नामकरण यसको गर्नुपर्ने भएको छ। तर सजिलो र स्पष्टको लागि यसको नाम नेपालवृत्त वा नेपालवृत्तान्त राख्नु नै सर्वथा उचित ठहर्दछ।

नेपालको उत्तराखण्डमा रहेको महान् चीन देशमा प्राचीनकालदेखि इतिवृत्त लेखेर राख्ने परम्परा भएको कुरा हामीले माथि उल्लेख गर्‍यौं। त्यहाँ ताङवंशको इतिहास ताङवृत्तान्त, युवानवंशको इतिहास युवानवृत्तान्त, मिङ्गवंशको इतिहास मिङ्गवृत्तान्तका नामले पुकारिन्छ। हाम्रो यहाँ प्रत्येक राजवंशको त्यस्तो विवरणात्मक इतिहास लेख्ने परम्परा नभएबाट र यस वेला लेखिएको यो वृत्तान्त पनि सबै वंशका राजाको सगोलै भएकोले पनि यसलाई नेपालवृत्तान्त भन्दा उपयुक्त नाम ठहर्न आउनेछ।

नेपालमा राजा जयस्थिति मल्लको उदय भएपछि यस्तो इतिहास लेख्नपट्टि ध्यान गयो र दुई किसिमका विवरण प्राय: एकै वेलामा प्रस्तुत गरिए। यसभन्दा पहिले किन यसतर्फ ध्यान गएन, पछि पनि प्राय: अटुटरूपले यो प्रयास जारी रहेन। यो एउटा राम्ररी गौड गरेर हेर्ने विषय बनेको छ। यो कुरा हृदयंगम गर्न हामीले त्यस वेलाका हाम्रा छिमेकी देशका विद्वान्‌हरूको इतिहासतिरको गतिविधिपट्टि पनि दृष्टि दिनुपरेको छ।

भारतवासीले आफ्नो गौरवमय इतिहास बिर्सेर आफ्नो राजनैतिक पतन गराइसकेका हुँदा नै विदेशी मुसलमानी शक्तिको अगाडि घुडा टेक्नुपयो। विदेशी विजेता मुसलमानहरू पनि आफ्नो इतिहासतर्फ पनि सचेत थिए।

हामीले माथि पनि चर्चा गरिसक्यौं कि भारतमा इतिहास लेख्ने पढ्ने पुरानो परम्परा टुटिसकेको थियो, भारतवासीले आफ्नो गौरवमय इतिहास बिर्सेर आफ्नो राजनैतिक पतन गराइसकेका हुँदा नै विदेशी मुसलमानी शक्तिको अगाडि घुडा टेक्नुपयो। विदेशी विजेता मुसलमानहरू पनि आफ्नो इतिहासतर्फ पनि सचेत थिए। अलबेरुनी फरिस्ता जस्ता इतिहासविद् र शाहनामा आदि इतिहास ग्रन्थले तिनको इतिहासप्रेम प्रकट हुन्छ। अलबेरुनीजस्ता सचेत ज्योतिषी इतिहासविद् विद्वान्‌ पनि प्रसिद्ध आक्रमणकारी महम्मद गजनीका पासमा विद्यमान थिए२२।

भारतीय राज्यमा आवश्यकले आकलझुकल आफ्नो पुस्तावली टिपेर राख्ने चलन चाहिँ केही मात्रामा देखिन्छ। विहावारी गर्न नातानाला खुट्याउन अरू बाहुन क्षेत्रीमा पनि आफ्नो पुस्तावली तयार पार्ने चलन थियो। तेह्रौतियाँ ब्राह्मणको पंजिकाले यो कुरा प्रकट गर्छ। यस्तैमा काश्मीरका विद्वान्‌ कलणले लेखेको राजतरङ्गिणी (काश्मीरको इतिहास) हाम्रो सामु देखिन आउँछ। काश्मीर विद्या र ब्राह्मणको केन्द्र थियो। पश्चिम भारतमा मुसलमानी आक्रमण हुँदा धेरै ब्राह्मणपरिवार काश्मीरमा शरण लिन पुगेका थिए।

विक्रम संवत्‌को आठौं शताब्दीको शुरू मै सिन्धमा मुसलमानको आक्रमण भएको थियो। महम्मूद गजनीले वि.सं. १०७२ मा काश्मीरमा चढाइ गरे तापनि विजय हासिल गर्न सकेका थिएनन्। वि.सं. १०८३ मा सोमनाथ मन्दिर लुटेका थिए। त्यसै वेला अर्थात् वि.सं. १०८७ मा अलबेरुनीले काशी र काश्मीर विद्याको सर्वश्रेष्ठ, केन्द्र हुन्, यसैले हिन्दुहरू मुसलमानको आक्रमणबाट बच्न काश्मीर पसेका थिए भनी लेखेका छन्।

काश्मीरको वर्णन गर्दा कवि विलणले आफ्नो विक्रमाङ्कदेवचरितमा घरघरमा आइमाई केटाकेटी पनि संस्कृत र प्राकृतमै बोलचाल गर्दछन्२३ भनी लेखेका छन्। काश्मीर विटा केन्द्र हुँदाहुँदै नै त्यहाँ बडेबडे विद्वान्‌ पैदा भए र यिनले अलिकति भए पनि इतिहासको यो पनि जगाए। यसैको फल राजतरङ्गिणी जस्तो पुस्तक लेखियो। वि.सं. १२०७ सम्ममा राजतरङ्गिणी जस्तो पुस्तक लेखियो।

वि.सं. १२०७ सम्ममा राजतरङ्गिणीको रचना समाप्त भइसकेको थियो। महाभारतपछिको तिथिमितिसहितको ऐतिहासिक महाकाव्य राजतरंगिणी  नै हो भने हुन्छ। यद्यपि केही विद्वान्‌‌ले सामयिक राजाको जीवनचरित्र लेखेर ऐतिहासिक काव्यको रूप दिएका थिए। तिनमा वाणको हर्षचरित विलणको षष्ठ विक्रमादित्य चालक्यको विक्रमाङ्कदेवचरितलाई अघि सार्न सकिन्छ।

विक्रमको बाहौं शताब्दीको सुरूमा काश्मीरका क्षेमेन्द्रको कीर्तिपताका फैलिएको थियो। काश्मीरका प्रसिद्ध राजा अनन्त र कलशका समयमा उनी त्यहाँ आफ्नो विद्या बलले चम्केका थिए। उनले धेरै पुस्तक लेखेका थिए।

यस्तै मङ्खको श्रीकण्ठचरित, जलणको सोमपालचरित पनि ऐतिहासिक काव्य थिए। यस्तै अरू पनि केही ऐतिहासिक साहित्य नदेखिने होइनन्२४। तर राजतरङ्गिणीसमान दोस्रो ऐतिहासिक ग्रन्थ फेला परेको छैन।

कल्हणले धेरै मिहिनेत गरी पूर्वाचार्यले लेखेका ऐतिहासिक ग्रन्थ हेरी राजाको प्रशस्तिपट्ट अभिलेखहरू पनि पढी निर्णय गरी इतिहास ग्रन्थ लेखेका थिए। आफ्ना पुस्तकमा कल्हणले केही इतिहासकार र ऐतिहासिक ग्रन्थको चर्चा गरेका छन्। नीलमत पुराण र अरूं पूर्वाचार्यका एघारवटा इतिहासग्रन्थ हेरेको कुरा पनि उनले गरेका छन्२५। तिनमा पहिले उनले सुव्रतको नाम लिएका छन्।

सुव्रतले विशाल इतिहासग्रन्थलाई सम्झन पढ्न सजिलो होस् भनेर संक्षिप्त गराएका थिए रे। तर सो विस्तृत ग्रन्थ चाहिँ कल्हणका पालामा लुप्त भइसकेको थियो२६। विक्रमको बाहौं शताब्दीको सुरूमा काश्मीरका क्षेमेन्द्रको कीर्तिपताका फैलिएको थियो। काश्मीरका प्रसिद्ध राजा अनन्त र कलशका समयमा उनी त्यहाँ आफ्नो विद्या बलले चम्केका थिए। उनले धेरै पुस्तक लेखेका थिए। तिनका एक इतिहासको ग्रन्थ नृपावली (राजवंशावली) पनि पर्दथ्यो२७।

यो पनि अहिले प्राप्य छैन। हेलाराज नामक अर्का इतिहासविद्ले पनि दशौं शताब्दीमा बाह्र हजार श्लोक भएको ठूलो इतिहास पार्थिवावली (राजवंशावली) लेखेका थिए२८।

त्यस्तै पद्ममिहिर र छविल्लाकरले पनि इतिहासग्रन्थ लेखेका थिए२९। ती कुनै पनि अहिले प्राप्त भएका छैनन्। यसबाट केही कालमा कुनै विद्वान्‌‌ले इतिहासमा कलम चलाए तापनि इतिहासको पठनपाठन परम्परा टुटेकोले त्यस्ता ग्रन्थको सुरक्षा र प्रचार हुन सकेन।

एक-दुई छोटामोटा इतिहासपरक काव्य कथा लेखिए तापनि विशाल भारतको समग्र इतिहास बुझ्न ती त हात्तीका मुखमा जीरा भए।

कल्हणको धेरै समयपछि जोनराजले जोनराजतरङ्गिणी, त्यसपछि श्रीवरले जैनराजतरङ्गिणी र शुकले सत्रौं शताब्दीमा अन्तिम राजतरङ्गिणी तयार पारेका थिए। यसरी चार थरी राजतरङ्गिणी अहिले पाइन्छन्।

यसरी एकादेशमा एक-दुई छोटामोटा इतिहासपरक काव्य कथा लेखिए तापनि विशाल भारतको समग्र इतिहास बुझ्न ती त हात्तीका मुखमा जीरा भए। कुनै-कुनै राजाले आफ्नो पुस्तावली टिपेर राखेका उदाहरण. पनि पाइन्छन्। संस्कृतपद्यमा काव्यरूपमा र पृथ्वीराजरासोजस्ता देशीय भाषाका जीवनचरित्र पनि एकदेशीय नै भन्नुपर्छ।

कर्णाटकमा राज्य गर्ने चालुक्यवंशी राजा षष्ठ विक्रमादित्यले आफ्नो पुर्खाले ५९ पुस्तासम्म अयोध्यामा राज्य गरेपछि दक्षिणापथमा प्रवेश गरी यहाँ सोह्र पुस्तासम्म राज्यभोग गरिसकेको कुरा आफ्ना अभिलेखमा लेखाएका छन्।३० वंशावलीमा राजनाम टिपेर नराखेको भए यो संख्या तोक्नु संभव थिएन। हाम्रा यहाँका स्थिति मल्लका वंशजहरू पनि यस्तै कुरा आफ्नो वंशावलीमा लेखाउँछन्। परन्तु उनीहरू हरसिंहदेवसँग आफ्नो पुर्ख्यौली जोड्छन्।

चालुक्य राजवंश र नान्यदेवको वंश अलग थियो, इतिहासको यो कढी नबुझ्दा र कर्णाटकका राजघरानासँग आफ्नो वंश जोड्ने कुलीनताको मोहले गर्दा पछिल्ला मल्लराजाहरूले यस्तो भूल गरेका हुन।३१ जे भए पनि चालुक्य राजाले आफ्नो राजवंशको नामावली टिपेका रहेछन् भन्ने संकेतचाहिँ यसबाट हामीलाई मिलेको छ।

नेपालको उत्तरी छिमेकी देशमा भने इतिहास लेख्ने पढ्ने पढाउने परम्परा प्राचीनकालदेखि अनवरतरूपले चलेर आएको कुरा हामीले देखिरहेका छौं। प्रत्येक राजवंशको प्रत्येक बादशाहको सालसंवत् तिथिमिति मिलाएर वर्णन गर्ने, देशविदेशका समेत विशेष घटना टिप्ने गरेर विस्तृत इतिहास तयार पारिन्थ्यो। यसैको संसर्गले प्रभावले भोटमा पनि इतिहास लेख्ने परम्परा चलेर आयो।

स्रोङचनगम्पोको राजवंशको इतिहास र यस्तै विशिष्ट व्यक्ति विद्वान्‌ लामाहरूको जीवनचरित्र पनि त्यहाँ लेखिएका छन्, तर भोटका सबै जसो इतिहास जीवनचरित्र पनि हाम्रा पछिका भाषावंशावलीजस्तै धार्मिक अन्धविश्वासले बढी ग्रस्त भएका देखिन्छन्। जे भए पनि बढी विवरणात्मक र बढी नै घटना प्रदर्शित त्यस्ता वंशावली जीवनी भोटमा करीब हजार वर्ष पहिलेदेखि नै लेखिँदै आएका देखिन्छन्।

भारतीय राज्यमा एउटा काश्मीर राज्य नै अपवाद रह्यो, यसैले केही मात्रामा इतिहासज्ञानलाई जोगाएर राख्न सक्यो। केही विद्वान र विद्याको कदर गर्ने राजाहरूको प्रेरणाले त्यहाँ इतिहासग्रन्थ लेखिए, तिनमा राजतरङ्गिणी त हाम्रो सामुमै छ।

भोटमा यस्ता धर्ममूलक ऐतिहासिक ग्रन्थमा सोनाम घ्याल्छन् (वि.सं. १३६९-१४३२) ले लेखेको घ्याल्ब शेल भे मे लोङ, बुस्तोन रिम्बोचेले वि.सं. १३७९ मा लेखेको चो बुम र छेल्पा कुङ्गा दोर्जेले वि.सं. १४०३ मा छेल्गुङथाङमा लेखेका देवथेर मार्पो बढी प्रसिद्ध र पुराना पनि थिए। त्यसपछि पनि त्यहाँ इतिहास र जीवनचरित लेख्ने क्रम चलिरह्यो। त्यस्तै देवथेर कार्पो र देवथेर ङोन्पो पनि त्यहाँका प्रसिद्ध छन्, पछि सत्रौं शताब्दीको आरम्भमा पञ्चम दलाइ लामाले तयार पारेको घ्यालब पनि कम प्रसिद्ध छैन।३२

राजकुमारी राजल्लदेवीसँग विवाह गरेर उदाएका दक्षिण तराईतर्फबाट डोला खोजेर ल्याइएका राजा जयस्थिति मल्ललाई एक्कासि यो नेपालवृत्तान्त लेखाउने प्रेरणा कसरी कहाँबाट पैदा भयो भन्ने जिज्ञासाका लागि हामीले भारत, भोट र चीन देशको इतिहास लेख्ने परम्परापट्टि संक्षिप्त सिंहावलोकन गर्नुपरेको हो। यस सिंहावलोकनमा हामीले के देख्यौं भने भारतमा खास इतिहास लेख्ने पढ्ने प्रवृत्ति थिएन भन्दा हुन्छ, राजाश्रयमा रहेका केही कविले प्रशस्तिमूलक हर्षचरित, विक्रमाङ्कदेवचरित, पृथ्वीराजरासो आदि काव्य लेखे तापनि तिनले इतिहासको कडी फेला पारेको भन्न मिल्दैन, आधुनिककालमा इतिहासनिर्माणमा त्यस्ता प्रशस्तिकाव्यले अलिकति मद्दत गर्ने मात्र हुन्।

भारतीय राज्यमा एउटा काश्मीर राज्य नै अपवाद रह्यो, यसैले केही मात्रामा इतिहासज्ञानलाई जोगाएर राख्न सक्यो। केही विद्वान र विद्याको कदर गर्ने राजाहरूको प्रेरणाले त्यहाँ इतिहासग्रन्थ लेखिए, तिनमा राजतरङ्गिणी त हाम्रो सामुमै छ। तर के गर्नु यो पनि एकदेशीय नै थियो, राजतरङ्गिणीमा विशाल गुप्तसाम्राज्यको वर्णन छैन, समुद्रगुप्तजस्ता राजाको नामोनिशान देखिदैन।

अर्को कुरा इतिहास पाठ्यसामग्रीमा त्यहीँ पनि पर्दैनथ्यो। सुव्रतको विशाल इतिहासग्रन्थ लोप भएर संक्षिप्त मात्रै पाइँनु, कल्हणले वर्णन गरेका एघारवटा इतिहासग्रन्थ र नीलमतपुराण पनि एघारवटा नाश भएर एउटा नीलमतपुराण मात्र पाइँनु यसको प्रमाण हो। राजतरङ्गिणीकै पनि परम्परा बसेन, त्यसैले प्रथम राजतरङ्गिणी तयार भएको करीब तीन शय वर्षपछि मात्र दोस्रो राजतरङ्गिणी तयार भयो।

यी सबै कुराबाट भारतीय भूमिबाट वा भारतीय विद्वान्‌‌बाट जयस्थिति मल्ललाई इतिहासतिर प्रवृत्त पार्ने प्रेरणा मिलेको थियो भन्न सकिदैन। बरु इतिहासतर्फ मनोयोगले सरोकार राख्ने इतिहास लेख्ने लेखाउने पढ्ने पढाउने परम्परा बसेको चीनबाटै यो प्रेरणा उनलाई मिलेको थियो भन्न सकिन्छ। त्यस वेला नेपालको भोटसँग मात्रै होइन, चीनसँग पनि राम्रो सम्बन्ध बढेको थियो।

यसभन्दा शय वर्षपहिल्यै भोटबाट चीन गएका प्रसिद्ध कलाकार आनिकले आफ्नो कलाकौशलले नेपालको नाम राखिसकेका थिए। तिब्बती लामा र बौद्ध विद्वान्‌ धेरै पहिलेदेखि नेपाल, भोट, भारत ओहोरदोहोर गर्दै थिए। पलाञ्चोकका वर्द्धनवंशी शासकहरूले भोटसँग व्यापार राम्रो चलाएका थिए, चीनसँग पनि अर्जीसौगातको आदानप्रदान गरी चीनबादशाह युङलोबाट वाङ (राजा) को उपाधिसमेत प्राप्त गरेका थिए।

वि.सं. १४४७ मा भोटका साक्यमठका लामा र महाचीनका प्रतिनिधि नेपाल आएका थिए। आश्विन कृष्ण औंसीका दिन तिनसँग बनेपाली शासकसँग सम्बन्ध बाँधी सम्झौता भएको थियो।

ने.सं. ५०७ मा चीनबाट प्रतिनिधिमण्डल नेपाल आएको थियो। यसलाई मदनसिंहरामवर्द्धनले स्वागत गरेका थिए। चीनसँग सम्बन्ध बाँध्नेमा जयस्थितिको नाम मिङ्गवृत्तान्तमा उल्लिखित त छैन, किन्तु नेपालवृत्तान्तमा स्थिति मल्लले चीनियाँ प्रतिनिधिमण्डललाई सौगात पठाएको संकेतसम्म चाहिँ पाइएको छ।३३ वि.सं. १४४७ मा भोटका साक्यमठका लामा र महाचीनका प्रतिनिधि नेपाल आएका थिए। आश्विन कृष्ण औंसीका दिन तिनसँग बनेपाली शासकसँग सम्बन्ध बाँधी सम्झौता भएको थियो।

यस उपलक्ष्यमा स्थिति मल्ल पर्यवेक्षकको रूपमा उपस्थित थिए।३४ जे भए पनि त्यस वेला नेपालको भोट चीनसँग आर्थिक, राजनैतिक, साँस्कृतिक सम्बन्ध राम्रैसँग गाँसिएको थियो। त्यसैले भोट चीनको जस्तै नेपालको पनि पुरानो इतिहास हेर्ने बुझ्ने अभिप्रायले स्थिति मल्लले नेपालवृत्तान्त तयार पार्न लाएको बुझिन्छ।

यसो भन्दा यहाँनेर उठ्न सक्ने संभावित तर्कतिर पनि ध्यान दिऊँ। सो के भने भारतका अरू राज्यमा इतिहास लेख्ने प्रवृत्ति नभए पनि काश्मीरमा यो प्रवत्ति केही मात्रामा देखियो। दक्षिण तराइतर्फबाट भित्रिएका नयाँ जोश, नयाँ जाँगर, नयाँ विचारधारा बोकेका उदीयमान राजा जयस्थिति मल्लले नेपालको आर्थिक राजनैतिक, सामाजिक व्यवस्था सुधार्न बाहिरबाट धेरै विद्वान्‌ ब्राह्मणहरूलाई आफ्ना आश्रयमा राखेका थिए। कान्यकुब्जका तेह्रौतमा विद्वानहरू उनका देशमा आएर बसेका थिए।

यस्तै अवस्थामा काश्मीरी विद्वान्‌ पनि यहाँ आउन धेरै संभव छ। सिजाराज्यमा र मध्य पश्चिमका सामन्तराज्यमा पनि काश्मीरी विद्वान्‌ आपर राजाश्रयमा रहेका प्रमाण पनि पाइएकै छ। त्यस कारण त्यस्तै कुनै इतिहासप्रेमी किसान आएर नेपालको पूर्ववृत्तान्ततिर कलम चलाएर स्थिति मल्लको मनोवाञ्छा पुरा गरिदिए कि भन्ने तर्क पनि उठ्न सक्छ।

परन्तु यसो भन्नलाई हामीले अरू प्रमाण केही पाएका छैनौँ। साँच्चै भारतका इतिहासविद् विद्वान्‌ आएर यस क्षेत्रमा हात हालेका भए यो इतिवृत्त यति नराम्रो च्युत संस्कृतभाषामा लेखिने थिएन, किनभने काशीबाट आएका शङ्कराचार्यले राखेको राष्ट्रिय संग्रहालय (म्युजियम) मा हाल रहेको अभिलेख कस्तो प्रौढ प्राञ्जल शैलीमा लेखिएको छ।३६ फेरि यस इतिवृत्तमा खास शुद्ध र क्रमबद्ध विवरण भएको दोस्रो भाग प्राय: नेवारीमै छ, त्यस कारण पनि बाहिरबाट आएका संस्कृतपण्डितको यसमा हात थियो भन्न सकिदैन। चीन भोटतर्फ आवतजावत भएका नेवारी भाषामै कलम चलेका मान्छे नै यस इतिवृत्तका ग्रन्थकार थिए, यसैले संस्कृतभन्दा नेवारीमा यिनको बेशी कलम चलेको थियो।

अन्त्यमा यसको बारेमा अर्को कुरा पनि बुझ्न आवश्यक छ। पहिले संस्कृत संस्करण तयार भयो। यसका संक्षिप्तरूपका अरूअरू संस्करण पनि लेखिए। त्यसको अर्को रूप वृत्तान्तर नेवारी संस्करण थियो। पहिलो भन्दा संस्कृतका संक्षिप्त संस्करण केही शुद्ध छन्, संस्कृत संस्करणभन्दा नेवारी भाग केही बढी प्रामाणिक र सही पनि देखिन्छ।

(ज्ञानमणि नेपालको २०५५ मा नेपाल राजकीय प्रज्ञा-प्रतिष्ठानले प्रकाशित गरेको ‘नेपालनिरूपण’ पुस्तकमा ‘इतिहास लेख्ने परम्परा र नेपालवृत्त’ शीर्षकमा प्रकाशित लेख।)

टिप्पणी:

१) पुराणम् इतिवृत्तम् आख्ययिका उदाहरणम् (प्रशंसात्मक जीवनचरित्र) धर्मशास्त्रम् (ऐनकानून) अर्थशास्त्र (राजनीतिशास्त्र) च इतिहासः।

कौ. अर्थशास्त्र १५।१४।

२) इतिहास-पुराणाभ्यां चक्षुर्भ्यामिव सत्कविः।

विवेकाञ्जनशुद्धाभ्यां सूक्ष्ममप्यर्थमीक्षते॥

काव्यमीमांसा ८।१०

३) पूर्वमहर्भागं हस्त्यश्वरथप्रहरणविद्यासु विनयं गच्छेत्। पश्चिमम् इतिहास – श्रवणे।

कौ. अर्थशास्त्र १।५।१२-१३।

४) क्षीरौदनमांसौदनाभ्यां ह वा एष देवांस्तर्पयति, य एवं विद्वान्‌ वाकोवाक्यम् इतिहासपूराणम् अहरहः स्वाध्यायम् अधीते, ते एनं तृप्ताः तर्पयन्ति सर्वैः कामैः सर्वैः भोगैः॥

शतपथब्राह्मण ११।५।७।९

५) स ह उवाच ऋग्वेदं भगवः अध्येमि, यजुर्वेद सामवेदम् अथर्वाणं चतुर्थम् इतिहासपुराणं पञ्चमं वेदानां वेदं पित्र्यं राशिं दैवं वाकोवाक्यम् एकायनं देवविद्यां भूतविद्यां क्षत्रविद्यां नक्षत्रविद्यां सर्पदेवयजनविद्याम् एतद् भगवः अध्येमि।

छान्दोग्योपनिषद्।

६) महाभारत १।१।२६७

७) इतिहास-प्रदीपेन मोहावरणघातिना

लोकगर्भगृहं कृत्स्न पथावत् संप्रकाशितम्

महाभारत १।१।८७

८) मेरो र धनवज्रको ऐतिहासिकपत्रसंग्रहमा गुरु नयराज पन्तको उपोद्घात ६-१२ पृ. द्रष्टव्य।

९)  एशियाका इतिहास, चीन १०-११ पृ.

हाम्रा पुराना ग्रन्थमा पनि सत्यको लागि सर्वस्व बलिदान गरेका धेरै कथा पाइन्छन्।

१०) हिमवत्संस्कृति, १ वर्ष १ अङ्क ९-३२ पृ. मा गोपालवंशावलीका नामले अलिकति संस्कृतभागको अर्थसहित नरहरिनाथद्वारा प्रकाशित भएको थियो।

११) अन् एकाउन्ट अफ् द किङ्गडम् अफ् नेपाल

१२) हिष्ट्री अफ् नेपाल ट्रान्सलेटेड् फ्रम् द पर्वतिया

१३) क्याटलग् अफ् पल्म-लीफ् एण्ड सेलेक्टेड् पेपर् म्युनिस्क्रिप्ट्स् टु द दर्बार लाइब्रेरी, नेपाल २ भाग

१४) उही, १ भागमा हिष्टोरिकल इन्ट्रोडक्सन्।

१५) द्रष्टव्य- ‘सेसिल बेन्डालको शब्दमा गोपालराजवंशावलीको बयान’

पूर्णिमा ३१ पू. १७२-७७ पृ.

१६) गोपालराजवंशावली

(मूल ३० क पत्र) ८६ पृ.

१७) उही, ८४ पृ.

१८) उही, मूल ३० ख पत्र ५ पंक्ति।

१९) हि. संस्कृति १।१।१४ पृ.

२०) महेशराज पन्तले पनि अहिले यही पाठ पढेको छ।

पूर्णिमा, ७ पू., १९ पृ.

२१) काश्मीरका इतिहासकार कह्लणले पनि इतिवृत्तलाई ‘भूतार्थ’ लेखेका छन्-

श्लाध्यः स एव गुणवान् राजद्वेषबहिष्कृता।

भूताऽर्थकथने यस्य स्थेयस्येव सरस्वती॥

राजतरङ्गिणी १।७।

रीस राग छाडेर न्यायाधीशको जस्तो जसको बोली निष्पक्ष भएर भूतार्थ (भूतवृत्त-इतिवृत्त) अर्थात् इतिहास वर्णन गर्न लाग्दछ, उनै विद्वान्‌ सह्रानीय गुणी पनि हुन्छन्।

२२) अलबेरुनीले आफ्नो भारतयात्राविवरण अरवीभाषामा लेखेका थिए, त्यसको अंग्रेजी अनुवाद भयो। अंग्रेजीबाट सन्तरामले हिन्दीमा अनुवाद गरी वि.सं. १९८५  ‘अलबेरुनीका भारत’ भन्ने नामले प्रकाशित गरेका थिए।

२३) प्रत्यावासं विलसति वचः संस्कृत प्राकृतं च।

विक्रमाङ्कदेवचरित।

२४) रघुनाथसिंहले यस्ता केही ऐतिहासिक काव्यको उल्लेख गरेका छन्। राजतरङ्गिणीको आमुख ‘कह्लण’ २७ पृ. द्रष्टव्य।

२५) दृग्गोचरं पूर्वसूरिग्रन्था राजकथाश्रयाः।

मम त्वेकादश गता मतं नीलमुनेरपि॥

दृष्टैश्च पूर्वभूभर्तृप्रतिष्ठावस्तुशासनै:।

प्रशस्तिपट्टै: शास्त्रैश्च शान्तोऽशेषभ्रमक्लमः॥

राजतरङ्गिणी १।१४-१५।

पहिलेका विद्वान्‌ आचार्यका राजाका जीवनचरित्रसम्बन्धी एघारवटा ग्रन्थ नीलमतपुराण पनि मैले हेरेको छु। पहिलेका राजाहरूले देवमन्दिर प्रासाद भवन विहार आदिका प्रतिष्ठा गर्दा राखेका विभिन्न अभिलेख राजाहरूका प्रशस्तिपट्ट र शास्त्रहरू हेरेर मेरा मनका सबै सन्देह दूर भए।

२६) विस्तीर्ण प्रथमे ग्रन्था: स्मृत्यै संक्षिपतो वचः।

सुव्रतस्य प्रबन्धेनच्छिन्ना राजकथाऽश्रयाः॥११॥

राजाहरूका कथा भएका ग्रन्थ पहिले धेरै विशाल थिए। सम्झन पढ्न सजिलो होस् भनेर सुव्रतले संक्षिप्त पारेपछि ती पुराना ग्रन्थ लोप भए।

२७) केनाऽप्यववधानेन कविकर्मणि सत्यपि।

अंशोऽपि नास्ति निर्दोष: क्षेमेन्द्रस्य नृपावलौ॥१३॥

क्षेमेन्द्रको राम्रो काव्यशक्ति भए तापनि कुनै असावधानीले गर्दा उनको नृपावली (राजवंशावली) मा सबै भाग अशुद्ध भए।

२८) बद्धा द्वादशमिर्ग्रन्थसहस्रै: पार्थिवावलि:।

प्राङ्‌महाव्रतिना येन हेलाराजद्विजन्मना।।१७।।

पाशुपत धर्म मान्ने हेलाराज ब्राह्मणले बाह्र हजार श्लोक भएको पार्थिवावलि (राजवंशावली) बनाएका थिए।

२९) पद्मगिरि र छविल्लाकरले इतिहासग्रन्थ लेखेको कुरा गरे पनि कह्‌लणले तिनका ग्रन्थको नाम दिएका छैनन्।

उही १।१८-१९ द्रष्टव्य।

३०) तज्जेषु राज्यमनुपाल्य गतेषु राज-

स्वेकान्न (कोन) षष्टिगणनेषु पुराध्ययोध्यं।

तद्वंशजास्तदनु षोडश भूमिपालाः

क्ष्मां दक्षिणापथजुषं बिभरांबभूवुः।

षष्ठ विक्रमादित्य चालुक्यको नीलगुन्डाको ताम्रपत्रबाट, सेलेक्ट इन्स्कृप्सन्स्, २ भा. ५२५ पृ.

चालुक्यवंशी राजाहरूले ५९ पुस्तासम्म अघि अयोध्यामा राज्य गरिसकेपछि उनैका वंशज राजाहरू दक्षिणापथमा गएर १६ पुस्तासम्म राज्य भोग गरे।

३१) यस सम्बन्धमा विस्तृत छलफल अन्यत्र मैले आफ्नो इतिहासग्रन्थमा गरेको छु।

३२) भोटको इतिहास (भोटवृत्तान्त) को सामान्यचर्चा राजकीय प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित मेरो पुस्तकको ‘राजकुमारी भुकुटीसँग भोटका राजा स्रोङचनगम्पोको विवाह’ भन्ने प्रकरणमा गरेको छु।

३३) उक्त नेपालवृत्तमा ने.सं. ५०७ मा स्थिति मल्लले ७६ जलसीपाट पाटनको बाटो काठमाडौं पठाएको वर्णन पाइएकाले यो कोसेली भोटचीनतर्फ पठाइएको संकेत सम्झी त्यस्तो लेखिएको हो।

३४) उपर्युक्त सम्बन्धमा मैले आफ्नो नेपालको इतिहासग्रन्थमा सविस्तार वर्णन गरेको छु।

३५) महासामन्त रत्नदेवको राज्य पश्चिम नेपालको धवलस्रोतपुरमा लेखिएका पुस्तकमा काश्मीरी आचार्यहरूको नाम पुस्तक लेखकको रूपमा पाइन्छ।

३६) मैले यस शिलालेखलाई धेरै मिहिनेतले शुद्धसँग पढी त्यसको नेपालीमा अर्थ व्याख्यासमेत गरी ‘पशुपतिनाथको दर्शनस्पर्शनपूजनसम्बन्धमा समीक्षा’ को १ परिशिष्टमा प्रकाशित गरेको छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मगरात डट कम

हामीलाई सुचना, जानकारी, लेख रचना पठाएर सहयोग गर्नुहोला । ९८५७०५२८४०, ९७०५५३३१२३ magaratstudy@gmail.com


This will close in 10 seconds

Translate »