नेपाल मगर संघ जिल्ला समन्वय समिति पाल्पाको आयोजनामा भाषा, धर्म, संस्कृति संरक्षण तथा प्रवर्द्धन, संस्थागत विकास, नेतृत्व विकास र आर्थिक व्यवस्थापन सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम २०८२ साल चैत्र १४ र १५ गते गोर्खेकोटमा सञ्चालन गरिएको थियो।
कार्यक्रमको उद्घाटन सत्र संस्थाका अध्यक्ष शेर बहादुर सोमैको अध्यक्षतामा तथा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। सो अवसरमा नेपाल मगर संघका केन्द्रीय सह-अध्यक्ष दल बहादुर बिरकट्टा र केन्द्रीय सदस्य तथा तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली विशिष्ट अतिथिको रूपमा उपस्थित रहनुभएको थियो। साथै नेपाल आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष गम बहादुर थापा, सल्लाहकारहरू, भातृ संगठनका प्रतिनिधिहरू तथा सरोकारवालाहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो।

उद्घाटन सत्रमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूले भाषा, धर्म र संस्कृतिको संरक्षण बिना समुदायको पहिचान जोगिन नसक्ने धारणा व्यक्त गर्दै संस्थागत सुदृढीकरण, सक्षम नेतृत्व विकास र पारदर्शी आर्थिक व्यवस्थापन आजको आवश्यकता भएको औंल्याउनुभयो। उहाँहरूले संगठनलाई दिगो र प्रभावकारी बनाउन नीति, योजना र जवाफदेहितामा आधारित कार्यशैली अपनाउनुपर्नेमा जोड दिनुभयो।
संस्थाका उपाध्यक्ष फुलमाया गाहाको स्वागत मन्तव्य तथा सचिव श्याम माया रानाको सञ्चालनमा सम्पन्न उद्घाटन सत्रपछि नेपाल मगर संघ पाल्पाको भित्तेपात्रो प्रमुख अतिथि तथा अतिथिहरूद्वारा विमोचन गरिएको थियो।
कार्यक्रमको दोस्रो दिन सल्लाहकार तेज घर्तीमागर तथा नेपाल आदिवासी जनजाति महासंघका जिल्ला सचिव अमित रासकोटी मगरले प्रशिक्षण दिनुभएको थियो। प्रशिक्षणका क्रममा विशेषगरी आर्थिक व्यवस्थापन अन्तर्गत संस्थागत कोष व्यवस्थापन, आय–व्यय पारदर्शिता, बजेट निर्माण, लेखा प्रणालीको प्रभावकारी प्रयोग तथा आर्थिक अनुशासन सम्बन्धी विषयहरूमा सहभागीहरूलाई व्यावहारिक जानकारी प्रदान गरिएको थियो। साथै स्रोत परिचालन, वित्तीय योजना निर्माण र जिम्मेवार खर्च प्रणालीको विकासमा जोड दिइएको थियो।
प्रशिक्षण पश्चात अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरिएको थियो, जहाँ सहभागीहरूले सिकाइ अनुभव आदानप्रदान गरेका थिए। समापन सत्र संस्थाका अध्यक्ष शेर बहादुर सोमैको अध्यक्षता तथा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला अध्यक्ष गम बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।
कार्यक्रमले सहभागीहरूमा नेतृत्व क्षमता अभिवृद्धि गर्नुका साथै संस्थागत सुदृढीकरण र आर्थिक व्यवस्थापनप्रति स्पष्ट दृष्टिकोण विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।





















Leave a Reply